Techie IT
Mission Khabar

आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु, पहिलो पटक यी व्यवस्था लागू हुँदै !


काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति कार्यक्रम पनि आजैबाट क्रमश लागू हुनेछन् ।

सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातलाई विशेष रुपमा हेर्ने गरिन्छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले आयकरको सीमा बढाएको छ । नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक पाँच लाख रुपैयाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन । यस्तै विवाहितको हकमा छ लाख रुपैयाँसम्म आयकर नलाग्ने व्यवस्था गरिएको छ । यद्यपि आफ्नो आम्दानीको एक प्रतिशत सामाजिक सुरक्षा कर भने अनिवार्य बुझाउनुपर्नेछ । अविवाहितको हकमा पाँचदेखि सात लाख रुपैयाँसम्मको आम्दानी १० प्रतिशत र सातदेखि दस लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत, १० देखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ । वार्षिक २० लाख रुपैयाँभन्दा धेरै आम्दानी हुने अवस्थामा भने त्यसभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्छ ।

यसैगरी विवाहितको हकमा छ लाखदेखि आठ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत आयकर तिर्नुपर्ने नयाँ व्यवस्था बजेटमार्फत गरिएको छ । आठ लाखदेखि ११ लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत र ११ लाखदेखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्नेछ । २० लाखभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्नेछ ।

सरकारले १५ प्रतिशतले वृद्धि गरेको कर्मचारीको तलब आजैदेखि लागू हुँदैछ । आजदेखि पहिलो पटक विद्युतीय सेवा कर लागू हुँदैछ । यो नयाँ व्यवस्थाअनुसार अबदेखि युट्युब, फेसबुक, नेटफ्लिक्सजस्ता प्लेटफर्म करको दायरामा आउने भएका छन् । वार्षिक २० लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्ने यी प्लेटफर्मले कारोबार मूल्यको दुई प्रतिशत कर तिर्नुपर्ने व्यवस्था आर्थिक ऐनमार्फत गरिएको छ । स्थायी लेखा नम्बर नलिए पनि विद्युतीय सेवा उपलब्ध गराएर नेपालमा आम्दानी गर्ने सबैले कर बुझाउनुपर्नेछ ।

नेपालमा बसेर विदेशमा आउटसोर्सिङ मार्फत आम्दानी गरेबापत करयोग्य आयमा एक प्रतिशत कर बुझाउनुपर्ने व्यवस्था पनि नयाँ आर्थिक वर्षसँगै लागू भएको छ । आर्थिक ऐनले व्यवस्था गरेको दूरसञ्चार सेवा शुल्क पनि आजदेखि लागू हुँदैछ । यसअघि १३ प्रतिशत रहेको सेवा शुल्क नयाँ आर्थिक वर्ष सुरु भएसँगै घटाएर १० प्रतिशत कायम गरिएको छ। यीसँगै बजेटमार्फत अघि सारिएका आर्थिक गतिबिधि, विकास आयोजना लगायतका कार्यक्रमहरु आजबाट प्रक्रियामा अघि बढ्ने भएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #आयकर, #आर्थिक ऐन, #आर्थिक वर्ष २०७९/८०, #कर्मचारीको तलब, #नयाँ बजेट कार्यान्वयनमा, #नीति कार्यक्रम, #नेटफ्लिक्स करको दायरामा, #पहिलो पटक विद्युतीय सेवा कर, #फेसबुक, #युट्युब, #सरकार

तपाईको कमेन्ट लेख्नुहोस्