Techie IT
Mission Khabar

समाचार सामाग्री प्रकाशन/प्रसारणमा राजनीतिक विभेद नगर्न निर्वाचन आयोगको आग्रह


काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सबै उम्मेदवारलाई समान स्थान दिनेगरि समाचार सामाग्री प्रकाशन/प्रसारण गर्न सबै सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । विगतमा कतिपय अवस्थामा राजनीतिक दल र तिनका उम्मेदवारलाई निर्वाचनको सिद्धान्त विपरीत फरक–फरक हैसियत हुने गरी समाचार प्रेषित गरिएको स्मरण गराउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो चुनावमा विभेद नगर्न आग्रह गरेका हुन् ।

आफैसँग साझेदारी गरिरहेको सञ्चारमाध्यमसँग निर्वाचन आयोगले स्पष्टीकरण लिनुपर्ने अवस्था आउन नदिन पनि सबैलाई प्रमुख निर्वाचन आयुक्त थपलियाले सचेत गराएका छन् । पालिका चुनावमा जस्तो मतदातालाई समस्या हुने खालको मतपत्र प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा नहुने जनकारि दिएका प्रमुख निर्वाचन आयुक्त थपलियाले मत बदर घटाउन समेत भुमिका खेलिने बताए । ‘सबै राजनीतिक दल र उम्मेदवारलाई निर्वाचनको सिद्धान्त बमोजिम समान हैसियत कायम गर्ने ढङ्गले, सबैलाई समान व्यवहार गर्ने ढङ्गले समाचार, सूचना सम्प्रेषण गरिदिनु पर्यो। तपाईँहरूले कसलाई कसरी सर्पोट गर्नुभएको छ, त्यो हामी पनि बुझ्दछौँ । हामीले त्यसरी बुझ्नुपर्ने अवस्था नहुने गरी सबैप्रति समान व्यवहार गरिएको छ भन्ने हिसाबले सहयोग गरिदिनु पर्यो । तपाईँहरूलाई स्पष्टीकरण सोध्दा हामीलाई कति पीडा हुन्छ । त्यस्तो अवस्था आउन नदिने कुरामा ध्यान दिनुहोला ।’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव आउँदो मङ्सिर ४ गते आइतवार गर्ने घोषणा सरकारले गरेसँगै निर्वाचन आयोगले तयारीलाई तिब्रता दिदैआएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्