Techie IT
Mission Khabar

किन गरिन कुमारी आमा नेहारिकाले आत्मदाह प्रयास ? सरकारमाथी चौतर्फी दबाब !


काठमाडौं । बारम्बार अनसन बस्दैआएकी कुमारी आमा नेहारिका राजपुतको माग एउटै छ, आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही हुनुपर्छ । तर अहिलेसम्म पनि महोत्तरीकी निहारिकाले न्याय पाएकी छैनन ।

आफूले न्याय नपाएको भन्दै निहारिकाले शुक्रबार त पेट्रोल छर्केर राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरिन । आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले राष्ट्रपति भवन अगाडिको मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको समाचार बाहिरिएसँगै अहिले सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको छ । शरीरमा पेट्रोल छर्केको देखेपछि तत्कालै प्रहरीको टोलीले नियन्त्रणमा लिएका कारण अप्रिय घटना हुन नपाएपनि उनको मागमा बेवास्ता नगर्न भन्दै सरकारमाथी दबाब बढाइएको छ ।

 

आखिर के थियो त घटना ?
महोत्तरीको जलेश्वर नगरपालिकाकी निहारिकाले आफूलाई शिवराम श्रेष्ठ भन्ने व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दाबी गर्दै आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दैआएकी छिन् । गत जेठ २७ देखि माइतीघर र वसन्तपुरमा धर्ना र अनसन बसेकी उनलाई असार ३ गते माग पूरा गर्ने प्रतिबद्धतासहित गृहमन्त्री बालकृष्ण खाणले अनसन तोडाएका थिए । आरोपित व्यक्ति र आफ्ना छोराको डीएनए परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र छोराको सुरक्षा, आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय प्राप्तिका लागि राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने र अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने सहमति पत्रमा उल्लेख थियो ।

सरकार सहमति कार्यान्वयनतर्फ अग्रसर नभएको भन्दै साउन २० गते सिंहदरबार दक्षिण ढोकाअघि आमरण अनशनमा बस्ने प्रयास गर्दैगर्दा नेहारिका प्रहरीबाट पक्राउ परिन । अनसनकै क्रममा शुक्रबार वसन्तपुरबाट ट्याक्सी चढेर छोरासहित महाराजगञ्ज पुगेकी निहारिकाले ट्याक्सीबाट ओर्लिएलगत्तै हातमा बोकेको बोतलबाट शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकि थिइन । निहारिकाले आफूसँग सरकारले गरेको सहमति कार्यान्वयन नभएकोले आत्मदाहको बाटो रोज्न बाध्य भएको बताउँदैगर्दा उनको पक्षमा आवाज उठ्न थालेको छ । नेहारिकामाथी भएको अन्यायलाई बेवास्था नगर्न, उनलाई न्याय दिलाएर दोषीमाथी कारबाहीका लागि सामाजिक सञ्जालमार्फत दबाब बढाइएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्