Techie IT
Mission Khabar

कहिले पाउने मिटरब्याजी पीडितले न्याय ? सरकारसँग विश्वस्त हुन नसक्ने गुनासो !


काठमाडौं । मिटरब्याजीबाट घरबाहरविहिन बनेका पीडितहरुले सरकारी कार्यदलमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गर्दै तत्काल घर नफर्किने बताएका छन् । सरकारले मिटरब्याज पीडितको माग पूरा गर्न भन्दै कार्यदल गठन गरेपनि आफूहरु विश्वस्त हुन नसकेको भन्दै पीडितले प्रतिनिधित्वको माग गरेका हुन ।

मिटरब्याजीबाट ठगिएको गाउँ

यसअघि पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएको, तर पूरा नभएको भन्दै अब त्यत्तिकै घर नफर्कने अडानमा पीडितहरु रहेका छन् । काठमाण्डौमा धर्ना बसेका नवलपरासीका मिटरब्याजी पीडितहरुसँग सरकारी कार्यदलले शुक्रबार मात्रै वार्ता गरेको थियो । कार्यदलले प्रमाण सङ्कलन र अनुसन्धान अगाडि बढाउने आश्वासन दिँदै घर फर्किन आग्रह गरेको भएपनि पीडित परिवार अझै विश्वस्त हुन सकेका छैनन । यसअघि असारमा पनि पीडितहरुले धर्ना दिएपछि सरकारले समस्या सुनुवाइ भएको भन्दै अनुसन्धान गर्ने आश्वासन दिएको थियो । तर सरकारले आश्वासनअनुसार काम नगरेपछि पीडितहरु फेरि काठमाडौं आएर १० दिन अघिदेखि माइतीघरमा धर्ना दिँदै आएका थिए । नवलपरासीका मिटर ब्याजी पीडितहरूलाई न्याय दिलाउन भन्दै सरकारले शुक्रबार गृह मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ कार्यदलले हिजोदेखि नै काम थालेको बताइएको छ ।

नवलपरासीका मिटर ब्याजी पीडितहरू प्रतिनिधि उदाहरण मात्रै हुन । तराई मधेशमा मिटरब्याजीहरुको निक्कै ठूलो दबदबा भएपनि सरकारले यस्ता आर्थिक अपराधमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । रौतहटमा रबरको औँठाछाप बनाएर ठगी गर्ने ठूलो गिरोह सक्रिय भएपनि सरकारले यसको अनुसन्धान र कारबाहीमा बेवास्था गरिरहेको छ । मिटरब्याजीबाट ठगिनेमा अधिकांश कृषक परिवार रहेका छन् । उनीहरुको जग्गा कब्जा गर्ने उद्देश्यले मिटरब्याजी सक्रिय रहेको पाइएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्