Techie IT
Mission Khabar

काठमाडौं उपत्यकाको सबै फोहोर उठाउन १० दिन लाग्ने, यसरी लगिदैछ बञ्चरेडाँडा !


काठमाडौं । दुई महिनादेखि काठमाडौं उपत्यकाको घरघर र सडकमा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटक–पटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि थुप्रिएको उपत्यकाको फोहर व्यवस्थापनमा करिब १० दिन लाग्ने देखिएको हो ।

काठमाडौं महानगरका नगर प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालका अनुसार साविक बमोजिम फोहर व्यवस्थापनका लागि स्थानीयवासीले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आउँदो १० दिनमा सबै फोहर व्यवस्थापन हुनेछ । सहरका चोक, गल्लीमा लामो समयदेखि फोहर थुप्रिएकाले सबै फोहोर व्यवस्थापनमा समय लाग्ने बताइएको छ । अहिले पनि काठमाण्डौ उपत्यकाको १८ पालिकामा आठ हजार टिपर फोहर व्यवस्थापन गर्नुपर्ने आँकलन गरिएको छ । फोहर व्यवस्थापनको सम्बन्धमा बुधवार काठमाण्डौ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि बिहीवारदेखि साविक बमोजिम फोहर व्यवस्थापनको काम भैरहेको छ ।

पछिल्लो सम्झौताअनुसार फोहरको गाडीबाट लिच्चड चुहाउन पाइने छैन । तर काठमाडौं महानगरसँग अहिले लिच्चड ट्याङ्क भएको ७५ वटा टिपर छन् । ती टिपरले दैनिक दुई टिप गर्नेछन् भने एक सय ५० वटा लिच्चड ट्याङ्क भएका टिपर भाडामा लिएर प्रयोग गर्नेगरि तयारी थालिएको छ । बिहीवारदेखि नै दुई महिनादेखि टेकु ट्रान्सफर स्टेशनमा थुपारिएको फोहर व्यवस्थापनको काम पनि थालिएको छ । यहाँको फोहोर नै अझै पाँच सय टिपर अन्तिम व्यवस्थापनस्थलसम्म लैजानुपर्नेछ । अहिले सञ्चालनमा रहेको फोहर बोक्ने टिपरको सङ्ख्यामा वृद्धि गरी केही दिनमा नै दैनिक तीन सय वटा गाडीले फोहर विसर्जनको तयारी थालिएको नगर प्रमुख साहले बताएका छन् ।

अहिले उपत्यकाको विभिन्न ठाउँमा अस्तव्यस्त रूपमा रहेको फोहरको विसर्जन हुने बित्तिकै बञ्चरेडाँडामा लगिने सबै फोहर पूर्णरूपमा वर्गीकरण भएर मात्रै लैजाने बताइएको छ । घरबाट फोहर उठाउँदा स्रोतमै वर्गीकरण गर्ने विषयलाई महत्त्वका साथ हेर्ने र तोकिएको बारअनुसार फोहरको वर्गीकरण नभए यसअघि भनेझै कारबाही प्रक्रिया अघि बढाइने चतावनी काठमाडौं महानगरले दिएको छ ।

लामो समयसम्म रोकिएको फोहर व्यवथापनका लागि नेपाल टिपर तथा ट्रक व्यवसायी समिति र समानान्तर निर्माण सेवालगायत संस्थाले निःशुल्क सेवा प्रदान गरेर सहयोग गरिरहेका छन् । बिहीवार समितिका एक हजार आठ सय वटा टिपर फोहर बोकेर ल्यान्डपिल साइट पुगेका थिए । समानान्तर निर्माण सेवाले पनि पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिपर उपलब्ध गराएको छ । फोहर व्यवस्थापनका लागि अवरोध गर्ने शृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै कामपाका मेयर साहले फोहर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा सबैले जोड दिन आवश्यक रहेको बताएका छन् ।

उपत्यकाको फोहर व्यवस्थापनको सवालमा सिसडोल, बञ्चरेडाँडाका स्थानीयवासीबीच पटक–पटक सहमति भएपनि सहमति कार्यान्वयन नहुँदा अबरोधले निरन्तरता पाउँदैआएको छ । सहमति कार्यान्वयनका लागि दबाब दिन स्थानीयवासीले समय–समयमा अवरोध गर्दा काठमाडौंमो फोहोरको समस्या बढ्ने गरेको छ । स्थानीयवासीले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले अहिलेको सम्झौता दीर्घकालीन नभएको भन्दै काठमाडौं महानगरले अन्य ठाउँमा फोहर व्यवस्थापन स्थलको पहिचानको काम भने जारी राखेको पाइएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्