Techie IT
Mission Khabar

रसुवागढी र तातोपानी नाका वर्षौदेखी ठप्प, दशैँ बजार प्रभावित हुने व्यापारीको चेतावनी !


काठमाडौं । नेपाल र चीन जोड्ने रसुवागढी र तातोपानी नाका लामो समयदेखी पूर्ण रुपमा खुल्न नसक्दा सरसामान आयात ठप्प हुँदैआएको छ । दशैँको लागि भन्दै व्यापारीले अर्डर गरेका र ल्याउँदै गरेका सामान दुई भन्सार नाका पूर्णरुपमा खुल्न नसक्दा रोकिएका हुन ।

कोरोनाको जोखिम बढेको भन्दै चीनले बन्द गरेको दुवै नाका तत्काल खुल्ने सम्भावना नदेखिँदा व्यापारी अहिले चिन्तित बनिरहेका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनमा कोरोना सङ्क्रमण कायमै रहेकाले रसुवागढी नाका छिटै खुल्ने सम्भावना नरहेको जानकारि दिएका छन् । कोरोना सङ्क्रमण कम भएमा भने भन्सारको समस्या धेरै दिन नलम्बिने आशा गरिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल पनि तातोपानी नाका खुलाउनेबारे चिनियाँ पक्षबाट जानकारी नआएको बताउँछन् । चीनतर्फ कोरोना सङ्क्रमण बढिरहेको र त्यसकै कारणले नाका बन्द गरेकाले तत्काल खुल्ने सम्भावना नदेखिएको बताइएको छ । तातोपानी र रसुवागढी नाका बन्द भएका कारण दशैँका लागि भनेर अर्डर गरिएका लत्ता कपडा, फलफूल, थानका कपडा र मेसिनरी सामान बाटोमै रोकिएका छन् । तत्काल रसुवागढी र तातोपानी नाका नखुले दशैँ बजार नै प्रभावित हुन सक्ने चेतावनी व्यापारीहरुले दिएका छन् ।

कोरोनाका कारण चीनले तीन वर्ष अघिदेखि नै नाकामा कडाइ गर्दैआएको छ । कोरोना सङ्क्रमण कम भएपछि नाका आंशिक मात्रै खुलेकाले कतिपय परराष्ट्रविद्हरु चीनले अघोषित नाकाबन्दी गरिरहेको दाबी गरिरहेका छन् । फेरि चीनको तिब्बत क्षेत्रमा कोरोना सङ्क्रमण बढेको भन्दै रसुवागढीमा साउन २१ गतेदेखि र तातोपानीमा २५ गतेदेखि नाका बन्द गरिएको छ । यो क्रम अझै केही समय लम्बिने आँकलन गरिदैगर्दा व्यवसायीहरु भने रुष्ट बन्दै आएका छन् । नेपाल सरकारले कुटनीतिक पहल मार्फत नाका सहज बनाउन नसकेको भन्दै आलोचना भैरहेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्