Techie IT
Mission Khabar

डेंगीको ज्वरो कम भएपनि जटिल समस्या आउनसक्छ, लापरबाही नगर्न चिकित्सकको सुझाब !


काठमाडौं । डेंगीको ज्वरो कम भएपछि पनि स्वास्थ्यमा थप जटिल समस्या आउन सक्ने भन्दै चिकित्सकले सचेत गराएका छन् । ज्वरो कम भएपछि डेंगी निको भएको भन्दै लापरबाही गर्दा ज्यानै जाने जोखिम बढेको भन्दै डाक्टरले सचेत गराएका हुन ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले ज्वरो घटेपछि कतिपयमा जटिल अवस्था अर्थात् ‘क्रिटिकल फेज’ सुरू हुने गरेको जानकारि दिदै यो सामान्यतया २४ देखि ४८ घण्टामा देखिने बताए । यो समयमा पेट वा फोक्सोमा पानी जम्ने सम्भावना बढी हुने र यस्तो अवस्था एक्सरे तथा अल्ट्रासाउन्ड मेसिनबाट पत्ता लगाउन सकिने डाक्टरले बताएका छन् । यो समयमा बिरामी अचेत अवस्थामा समेत जान सक्ने र यसै समयमा रक्तस्रावको समस्या समेत देखा पर्न सक्नेतर्फ सचेत गराउँदै समयमा उपचार नगरेर र ज्वरो कम भएको भन्दै हेलचेक्राइले ज्यान जान सक्ने डाक्टर पुनले बताउनुभएको छ ।

डेंगु संक्रमणबाट कलेजो र मिर्गौला समेत खराब हुन सक्ने भएकाले ज्वरो कम भए पछि पनि स्वास्थ्यको परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन्। तारन्तार बान्ता हुनु, अत्यधिक पेटमा पीडा हुनु, नाक, गिजा वा अरू अंगबाट रगत बग्नु, आलस्य÷बेचैनी हुनु जटिलताका संकेत हुन् । यस्ता लक्षण देखिनासाथ अस्पताल जान चिकित्सक पुनले सल्लाह दिएका छन् ।

यस्तो छ देशभर डेंगीको समस्या ?
देशभर डेंगीको संक्रमण फैलिएसँगै बिरामीको संख्या पनि बढिरहेको छ । अहिलेसम्म २५ हजार भन्दा धेरैलाई डेंगीको संक्रमण पुष्टि भएको छ भने ३२ जनाको यो संक्रमणबाट ज्यान गएको छ । डेंगीका कारण ज्यान गुमाउने संख्या बढिरहेकाले डाक्टरले सचेत हुन आग्रह गरेका छन् । डेंगी संक्रमणमा उच्च ज्वरो आउनुका साथै शरिरमा दुखाइ अत्याधिक हुने गर्दछ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगी भएका बिरामीले दुखाइ तथा ज्वरो कम गर्न भन्दै ‘फ्लेक्सन’, ‘ब्रुफिन’, ‘निम्स’ जस्ता औषधी धेरै खाने गरेको भन्दै नखान सुझाव दिन्छन् । बिरामीले ४ देखि ६ घण्टाको ग्यापमा सिटामोलको प्रयोग गर्न सक्ने र झोलिलो खानेकुरा प्रशस्त मात्रामा खान डाक्टरको सुझाव छ


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्