Techie IT
Mission Khabar

एक अर्काका कट्टर आलोचक बन्दै ओली र प्रचण्ड, बामपन्थीको बिभाजनबाट लाभ लिदै कांग्रेस !


काठमाडौं । २०७४ सालको निर्वाचनमा पार्टी एकता गरि निर्वाचन र सरकारमासँगै सहयात्रा गरेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय आरोप प्रत्यारोपको जुहारी खेलिरहेका छन् । तत्कालिन नेकपाबाट सुरु भएको बिवाद पार्टी फुटसम्मको अवस्थामा पुगेपछि चर्किएको आरोप प्रत्यारोप अहिले पनि जारी छ ।

वि.सं. २०७४ को प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पार्टी एकता गरेर संयुक्त रुपमा नेकपा गठन गरि निर्वाचनमा होमिएका ओली र प्रचण्डको साठँगाँठ तीन वर्ष हाराहारिको सहकार्यपछि खटपटमा परिणत भयो । यी दुई नेताको खटपटकै कारण बाम सरकार मात्रै ढलेन तत्कालिन एमाले र माओवादी नै ब्युतिए । दुई तिहाई नजिकको जनमत गुमाउने र पार्टी बिभाजनको दोष अहिले ओली र प्रचण्डले एक अर्कामाथी लगाइरहेका छन् । एमालेका अध्यक्ष ओलीले प्रचण्ड अस्थिर मान्छे भएको मात्रै दाबी गरेका छैनन माओवादी सकिन लागेपछि बाध्भ भएर तालमेल गरेको टिप्पणी गरिरहेका छन् ।

यता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि के कम एमाले अध्यक्ष ओली हावादारी मान्छे भएको टिप्पणी गर्छन । गणतन्त्र उल्टाउने, लोकतन्त्र मास्ने खेलमा ओली लागेको तर्क गर्ने प्रचण्ड बाम गठबन्धन गरौं भनेर आफैले प्रस्ताव गर्दा स्वार्थमा लिप्त ओलीले नै प्रतिवाद गरेको जिकिर गरेका छन् । बाम गठबन्धनको बलमा पाँच वर्ष अघि नेपाली कांग्रेसलाई ठूलो पराजय ब्यहोर्ने अवस्थामा पुर्याएका यी दुई नेता अहिले एक अर्काका बर्ग सत्रु जस्तो गरि एकहर्काको हुर्मत काडिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनपछि एमाले पत्तासाफ हुने दाबीसहितको अभिव्यक्ति सार्वजनिक गरिरहँदा ओलीले माओवादी निर्वाचनबाट समाप्त हुने ठोकुवा गरिरहेका छन् ।

बामपन्थीको ध्रुविकरणबाट कमजोर बनेको कांग्रेस भने यी दुई बामपन्थी दलका अध्यक्ष द्धय ओली र प्रचण्डको जुहारी अनि पानी बाराबारको अवस्थाबाट आफूले फाइदा लिनेगरि चुनावी मैदानमा होमिएको छ । ओली र दाहालको सार्वजनिक अभिव्यक्ति जस्तै एकअर्काको हैसियत कमजोर बनेर कांग्रेसले लाभ लिन्छ वा नयाँ जनादेशले फेरी बामपन्थी ध्रुविकरण गराउँछ ? यसका लागि चुनावी नतिजा पर्खनुपर्ने हुन्छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्