Techie IT
Mission Khabar

नेपाली अर्थतन्त्र सुधारउन्मुख बन्दैछ : अर्थमन्त्री पौडेल


काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्न तयार रहेको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने कहिल्यै हस्तक्षेप नहुने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका समस्या समाधानका उपायहरूलाई कार्यान्वयन गरेर अघि बढ्न कर्मचारीलाई आग्रह गरेका थिए । कार्यक्रममा मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाले नेपालको अर्थतन्त्रमा तीन वटा मुख्य समस्या रहेको औल्याएको थियो । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव, न्यून राजस्व परिचालन र मुद्रास्फीति रोक्न राज्य संयन्त्र र सरोकारवाला एक जुट भएर लाग्नुपर्ने बताइएको छ । लगानीयोग्य रकम बिस्तारै सहज हुन थालेको, मुद्रास्फीति नियन्त्रणउन्मुख रहेको अर्थमन्त्रालयका अधिकारिहरुले बताएका छन् । ब्याज दर उच्च हुँदा मुद्रास्फीति नियन्त्रणमा सहयोग गरे पनि आर्थिक वृद्धिलाई असर पार्ने, न्यून राजस्व परिचालनले सार्वजनिक वित्त सन्तुलनलाई नकारात्मक प्रभाव पार्ने र मुद्रास्फीतिले नागरिकको क्रय शक्ति कम गरी जीवन कठिन बनाएको भएपनि क्रमिक सुधार देखिन थालेको अर्थको विश्लेषण छ ।

बजेट महाशाखाले चार खर्ब छ अर्ब ५४ करोड चालु खर्च र ४३ अर्ब ७७ करोड रुपैयाँ पुँजीगत खर्च भएको जानकारी गराएको छ । यसैगरी अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले आर्थिक वर्ष २०७९/०८० मा एक खर्ब ३७ अर्ब रुपैयाँ वैदेशिक सहायता सम्झौता भएको र त्यसमध्ये एक खर्ब १४ अर्ब ऋण र २३ अर्ब रुपैयाँ अनुदान भएको विवरण सार्वजनिक गरेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्