Techie IT
Mission Khabar

मेयर बालेनले लगाईदिए दर्ता नभएका बौद्ध र कोटेश्वरका दुई अस्पतालमा ताला, अनुगमन तिब्र !


काठमाडौं । दर्ता नै नगरि सञ्चालनमा रहेका दुईवटा अस्पतालमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ । दर्ता नगरि मापदण्ड विपरित सञ्चालनमा रहेका वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पताललाई कामपा जनस्वास्थ्य विभागले बन्द गरेको हो ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले स्वास्थ्यजस्तो संवेदनशील सेवा प्रदान गर्ने ठाउँ दर्ता नै नभएको पाइएपछि बन्द गराउन बाध्य भएको जानकारि दिए । बन्द गरिएका दुवै अस्पताल १५\१५ शय्यामा सञ्चालन गरिएका थिए। चाइनिज पिपुल्स अस्पतालमा अक्युपङ्चर र पाइल्सको उपचारका लागि मानिसहरु आउने गरेका थिए । सहयात्रीमा गर्भपतन सेवा दिने गरिएको थियो । विभागले लक्षित वर्गलाई उपलब्ध गराउनुपर्ने सेवा उपलब्ध गराएको÷नगराएको बारे नियमित निगरानी र अनुगमन गरिरहेको छ । यही जेठ पहिलो हप्ता नै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्न आफ्नो क्षेत्रभित्रका अस्पतालहरूलाई निर्देशन दिएका थिए । नगरप्रमुख शाहले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७०, (घ) मा भएको व्यवस्था स्मरण गराउँदै कामपाको अधिकार क्षेत्रमा रहेका केन्द्र, प्रादेशिक, स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्थालाई सचेत गराएका थिए । विद्यमान स्वास्थ्यसम्बन्धी ऐन, कानुन र मापदण्ड पूर्ण कार्यान्वयन नगर्ने विरुद्ध कारबाही गर्न बाध्य हुने चेतावनी समेत मेयर शाहले दिएका थिए ।

महानगर क्षेत्रभित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्डअनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, अस्पतालजन्य फोहरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणका लागि सिफारिस नगर्नेजस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँचयोग्य बनाउन पनि सम्बन्ध भएका सबै निकायलाई कामपाले बारम्बार अनुरोध गर्दैआएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्