Techie IT
Mission Khabar

बजेट र विकासे योजनाको पुलिन्दा ओकल्दै देशभरका महानगर, दोब्बर बजेट ल्याएको काठमाडौँ र अन्यको योजना उस्तै–उस्तै


काठमाडौं– देशका महानगर, उपमहानगर, नगर सहित अधिकांश स्थानीय तहले आफ्नो बार्षिक कार्यक्रम सहित बजेट ल्याएका छन्, केही ल्याउदै र केही ल्याउने क्रममा पनि छन् । नगर र गाउँपालिका भन्दा पनि महानगरको बजेट र आगामी कार्यक्रमलाई सबैले चासोका साथ हेरेका छन् । सबैभन्दा बढी बजेट ल्याएको काठमाडौं महानगर र सबैभन्दा कम बजेट विनियोजन गरेको ललितपुर महानगर सहितका सबै महानगरको यहाँ बजेट अन्तरकथा खोतल्ने प्रयास गरेका छौँ ।

काठमाडौं महानगरपालिका
काठमाडौैं महानगरपालिकाले स्थानीय तह मध्येकै सबैभन्दा बढी १३ अर्ब २ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार नगरसभामा उपमेयर हरिप्रभा खड्गीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा आन्तरिक आय ४ अर्ब ९० करोड २१ लाख ५७ हजार, बाहृय स्रोतबाट ५ अर्ब १९ करोड र अन्य स्रोतबाट १ अर्ब ४ करोड ११ लाख अनुमान गरिएको छ ।
वडास्तरमा पूर्वाधार निर्माणमा ३ अर्ब ६ करोड २५ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १ अर्ब ९३ करोड छुट्याइएको छ । शिक्षामा १ अर्ब १० करोड ४६ लाख, हनुमानढोका स्वयम्भू जोड्ने पदमार्ग निर्माण, ढुंगेधारा संरक्षण लगायतमा ५१ करोड ६७ लाख छुट्याएको छ । काठमाडौं महानगरपालिकाले भवन निर्माण र गाडी तथा अन्य सम्पत्ति खरिद मा २ अर्ब ३६ करोड १ लाख बजेट राखेको छ । मोनोरेल, इलेक्ट्रिक बस, फ्लाइ स्काइ ब्रिज, ईट्वाइलेट लगायतको पूर्वसम्भाव्यता अध्ययन तथा डीपीआर गर्न सबैभन्दा बढी १५ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पोखरा नेखनाथ महानगरपालिका
पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएको छ । नगर प्रमुख मानबहादुर जिसीले आइतबार ४ अर्ब ३३ करोड ७५ लाख २० हजार रुपैयाँ बाहृय आय र १ अर्ब ६९ करोढ ९० लाख ३० हजार आन्तरिक आय अनुमान सहितको बजेट सार्वजनिक गरे ।

बजेटको बाहृय आयमा वित्तीय समानीकरण अनुदानबाट ६१ करोड ४४ लाख, सशर्त अनुदानबाट १ अर्ब २० करोड ४२ लाख, समपूरक अनुदानबाट ६ करोड रुपैयाँ, विशेष अनुदानबाट १५ करोड, राजस्व बाँडफाँटबाट ३४ करोड ६५ लाख रुपैयाँ समेटिएको छ । प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ २ करोड ७४ लाख ३१ हजार ६ सय ९०, प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँटतर्फको आय ३ करोड २९ लाख ८८ हजार ३ सय ९० रुपैयाँ र नगद मौज्दात ५० करोडसमेत गरी कुल बजेट ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ अनुमान गरिएको छ ।
व्ययतर्फ विभिन्न कोषहरूका लागि जम्मा २१ करोड रूपैयाँ, पूर्वाधार विकासमा २ अर्ब २३ करोड ७९ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा ३५ करोड ५१ लाख, सामाजिक विकासतर्फ ८५ करोड ४५ लाख, आर्थिक विकासतर्फ ४१ करोड ३७ लाख छुट्याइएको छ । पुँजी निर्माणतर्फ ५ करोड १० लाख, सामाजिक सुरक्षा भत्तातर्फ ५३ करोड ८० लाख रूपैयाँ, प्रशासनिक खर्चतर्फ १ अर्ब ३२ करोड रूपैयाँ विनियोजन गरिएको छ । राजस्व फिर्ता तथा प्रदेश राजस्व बाँडफाँड फिर्तातर्फ ४६ करोड छ ।

१२ वटा योजना महानगरको गौरवका योजनाका रुपमा अघि सारिएका छन् । फेवा तथा बेगनासलगायत ताल संरक्षण र व्यवस्थापन, फेवा–बेगनास मोनो रेल सम्भाव्यता अध्ययन, विद्युतीय तारलाई जमिनमुनि व्यवस्थापन मुख्य छन् ।

विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकाले ‘सफासुन्दर, सुरक्षित र सक्षम विराटनगर’ नारा सहित आर्थिक बर्ष ०७५÷७६ का लागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार ल्याएको छ । महानगरपालिकाको दोस्रो नगरसभामा आईतबार मेयर भीम पराजुलीले महानगरपालिका तर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजना तर्फ १ अर्ब ९४ करोड २५ लाखको बजेट सार्वजनिक गरेका हुन् ।

चालुतर्फ ३३ करोड ६८ लाख ५२ हजार, सामाजिक सुरक्षा भत्तामा २० करोड, भौतिक पूर्वाधारका लागि ३ अर्ब २५ करोड ३ लाख ३३ हजार विनियोजन गरिएको छ । महानगरपालिकाले शहर व्यवस्थापन, बाढी पीडित व्यवस्थापन, खोला नियन्त्रण, सूचना प्रविधिको विकास, बेटी बचाउ अभियानलाई प्राथमिकता दिएको छ । प्रदेश राजधानीका लागि विराटनगरको भौतिक विकासलाई प्राथकिमता दिने पनि बजेटको प्राथमिकतामा छ ।
बजेटमा आन्तरिक स्रोतबाट ५४ करोड ३ लाख, राजश्व बाडफाँटबाट ३७ करोड ५ लाख, संघीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट ५३ करोड ८७ लाख रुपैयाँ समावेश गरिएको छ । विषयगत कार्यालयको ४४ करोड ९६ लाख, संघीय सरकार समपूरक र विशेष अनुदानबाट १० करोड, संघीय सरकार सशर्त अनुदान ३६ करोड १५ लाख, वैदेशिक र अन्य संघसस्था अनुदान ४ करोड ४६ लाख ५० हजार, जनसहभागिताबाट ३ करोड ५० लाख, नगर विकास कोषको ऋण सहयोग १ करोड ८० लाख, मौज्दात ७ करोडसहित जम्मा २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार रुपैयाँ आयको अनुमान महानगरको छ ।

भरतपुर महानगरपालिका
चितवनको भरतपुर महानगरपालिकाले दोस्रो नगरसभा मार्फत तीन अर्ब ३४ करोड पाँच लाख ८६ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । चालू तर्फ १ अर्ब ७० करोड ४९ लाख, पुँजीगततर्फ १ अर्ब ६२ करोड ५६ हजार रुपैयाँ विनियोजन भएको छ । आर्थिक विकासतर्फ ४ करोड ५० लाख, पूर्वाधार तथा सहरी विकासमा ५९ करोड, वातावरण तथा विपद् व्यवस्थापन १२ करोड, संस्थागत विकास तथा सेवा प्रवाहमा ३५ करोड ६४ लाख रुपैयाँ छुट्याइएको छ ।
भरतपुर महानगरको गौरवको आयोजना रिङरोड र लिङक रोड यही महिनाभित्रै शिलान्यास गरी अघि बढाइने नीति तथा कार्यक्रममा समेटिएको छ । भरतपुरका मूख्य तीन स्थानमा आकाशे पुल निर्माण, मूख्य चोकहरुमा अत्याधुनिक ट्राफ्रिक लाइट जडान, भरतपुर विमानस्थलको स्तरोन्नती, मेघौली विमानस्थललाई नियमित सञ्चालन, देवघाटधाममा विद्युतीय शवदाह गृह स्थापना प्राथमिकतामा छन् ।

ललितपुर महानगरपालिका
सबैभन्दा पहिला बजेट ल्याएको ललितपुर महानगरपालिकाले ३ अर्ब २२ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । मेयर चिरिबाबु महर्जनले नमुना महानगरपालिका बनाउने घोषणा सहित ल्याएको बजेटमा सांस्कृतिक, समुन्नत र स्वस्थ सहरसहितको नमुना सहर बनाउने घोषणा छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, दिगो सहरी पूर्वाधारको विकास, वैकल्पिक ऊर्जा प्रवद्र्धनको विकास, लैंगिक समानता, पर्यटन विकास, भौतिक पूर्वाधार नीतिलाई प्राथमितामा राखिएको छ ।

कुल बजेटमध्ये १ अर्ब २२ करोड आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न लागेको महानगरले नेपाल सरकारको २८ करोडको सशर्त अनुदान र ५६ करोडको वित्तीय समानीकरण अनुदान र बहुवर्षीय सडक विस्तारतर्फको १० करोड, विभिन्न कार्य तथा परियोजनाका लागि २६ करोड र वैदेशिक सहायता अनुदानतर्फ ७७ करोड गरी कुल ३ अर्ब २२ करोड पुर्याइएको छ ।
वीरगञ्ज महानगर भने बजेटको गृहकार्यमै छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्