Techie IT
Mission Khabar

देशका ३९ जिल्लामा बाढी र पहिरोको त्रासदी, ५६ को मृत्यु अरबौँको नोक्सानी


काठमाडौं– मनसुन सक्रिय भएर बर्षाद सुरु भएसँगै अहिले देशभरको जनजिवन प्रभावित भएको छ । गृहमन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी ३९ जिल्ला प्रभावित भएका छन् । जहाँ बाढी तथा पहिरोमा परेर ५६ जनाले ज्यान गुमाईसकेका छन् । यस्तै, ३७ जना बाढी पहिरोबाट घाइते हुँदा १२ जना अझै बेपत्ता छन् ।

देशको तराई जलमग्न हुँदा पहाड तथा हिमालमा पहिरोको प्रकोप सुरु भएको छ । राजधानी काठमाडौं, भक्तपुर तथा ललितपुरका समथर भूभाग नै डुबानमा परेका छन् । यहाँ मात्रै पनि करोडौको क्षती भएको छ । काठमाडौं उपत्यका भित्रका तिरतिरे पानी सहित ढल बग्ने खोलामा बर्षाद्को भेल उर्लीएको छ । खोला किनारको बस्तीमा पानी पसेको छ । पानीको बहाब भेलसँगै बढ्ने र घट्ने क्रम जारी रहिरहदा खोला किनारमा बाढीको जोखिम छ भने भित्री भागमा पानीको पर्याप्त निकास नभएका कारण डुबानको त्रास छ । बागमती, मनोहरा र धोबिखोलाको मुहान क्षेत्रमा बर्षाद् जारी रहेका कारण बाढीको त्रासदी र जोखिम अझै बाँकी नै छ ।

काठमाडौंको भक्तपुरस्थित हनुमन्ते, खसाङखुसुङ र मनहरा खोलामा अबिरल बर्षासँगै आएको बाढीले आपवासका थुप्रै बस्ती डुबाएको छ । चाँगुनारायण नगरपालिका ७ मझुवामा पहिरो जाँदा बुद्ध लामाको घर पुरिएर तीन जनाको मृत्यु भएको छ । ७० वर्षका हिरा लामा, ६५ वर्षका पानमाया र ३० महिनाकी सम्पदा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुरमा मात्रै डुबानमा परेका १ सय ११ जनाको सुरक्षाकर्मीबाट उद्दार भएको छ । जहाँ ५० घर टहरामा आंशिक क्षती पुग्दा ५०० परिवार विस्तावित भएका छन् ।

हनुमन्तेको बाढी पसेर भक्तपुर नगरपालिकाको जगाते, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौँ घर डुबानमा परेका छन् । यता, मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा क्षेत्रको भुइँतला पानीले भरिएको थियो । सूयविनायक नगरपालिका क्षेत्रको सिरुटार, बालकोट र कटुञ्जे क्षेत्रमा बाढीले बिनाश गरेको छ । मनोहरा सुकुम्वासी बस्ती पूरै डुबानमा परेको छ । मध्यपुरथिमि शंखधरचोकदेखि सूर्यविनायकसम्म बन्द रहेको अरनिको राजमार्ग सात घण्टापछि सञ्चालनमा आएपनि पानी जमेका कारण जोखिम कायमै छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा पहिरोबाट मृत्यु भएकाका परिवारलाई जनही १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको सरकारले बाढी र पहिरोबाट विस्थापितको प्रतिपरिवारलाई १० हजार राहत तत्काल वितरण गर्ने निर्णय गरेको छ ।

यता, प्रभावित र संभावित क्षेत्रमा बिशेष चनाखो भएर उद्धार र राहत वितरणमा खट्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला बाहेक काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङ, रसुवा, गोरखालगायत जिल्ला प्रभावित भएको भन्दै सरकारले नेपाली सेना, प्रहरी उद्धारमा खटाएर राहत वितरणलाई समेत तिब्र पारेको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्