Techie IT
Mission Khabar

राजधानीको कुरुप पहिचान, प्रदुषण र अस्तव्यस्तताले गाँजेको काठमाडौं


काठमाडौं–काठमाडौको अस्तव्यस्तता भनिसाध्य छैन । आफ्नै शैलीका अस्तव्यस्त घर, साँघुरा र कच्ची सडक अनि धूलो र हिलोको समिश्रण । यो परिचयबाट काठमाडौं गुज्रिएको निक्कै लामो समय भएको छ । संरचनागत रुपमै देखिएको अस्तव्यस्ततामा अझ महानगरपालिका मुख्य ठाँउहरु बढ्दैगरेको फुटपाथ व्यापारले अझै कुरुप बनाइदिएको छ ।

विहान होस, वा साझपख बानेश्वर, कोटेश्वर, रत्नपार्क, सुन्धारा, कलंकी, नयाँ बसपार्क, लगायतका अति जनघनत्वको आवतजावत हुने क्षेत्रका सडक भरिभराउ हुन्छन् । सडक नै अस्तव्यस्त पारेर व्यापार गर्नेहरुका कारण यसैपनि बिग्रिएको काठमडौं शहरको सुन्दरता थप विग्रिएको छ । अझ पैदय यात्रु त सडकबाटै हिड्नुपर्ने बाध्यता । पैदलयात्रु हिड्नका लागि निर्माण गरिएको सडक पेटिमा साँझ र बिहानको समयमा गरिने फुटपाथ व्यापारले भीडभाडसँगै जोखिम बढाएको छ । हुन त व्यवसायिक पाटोबाट फुटपात व्यापारलाई सकारात्मक मान्नेहरु पनि थुप्रै छन् । यहि व्यवसायबाट सयौँ परिवारको रोजिरोटी धानिएको छ । यसमा कुनै दुईमत छैन । तर कानुनी व्यवस्था मान्नुपर्ने बाध्यता सबैका लागि समान छ । हैन भने राज्यले सबैका लागि फुटपाथ खुल्ला गर्न सक्नुपर्छ ।

यता, महानगरपालिकाले नगर प्रहरी नै खटाएर फुटपाथ अस्तव्यस्त गरेर सामान बेच्ने व्यापारीका सामान कहिलेकाँही जफत गर्ने गरेको छ । तर विडम्बना फुटपाथ अतिक्रमण रोकिएको छैन । बरु नगर प्रहरी आफै समान उठाउ, टोली आउँदैछ भनेर व्यवसायीका सूचक बनिरहेका छन् । यति मात्रै होइन, सामान जतिपटक जफत भए पनि फुटपाथ व्यवसायीको अर्को दिनको व्यापारको थलो साँघुरो सडक छेउ नै हुन्छ । सामान जति जफत गरिदिएपनि पेटका लागि आफुहरुसँग फुटपाथको विकल्प नहुने बाध्यता व्यापारीहरु सुनाउँछन् ।

कानुनतः यसरी सडक पेटीमा व्यापार गर्न पाइदैन । तर यहाँ यस्तै चलेको छ र चलिरहने पनि छ । गएको बैशाखमा महानगरपालिकाले २ महिनामै काठमाडौँका सबै ठाँउका सडक पेटी फुटपाथ अतिक्रमण रहित बनाउने उद्घोष गरेपनि अझै कार्यान्वयन भएको छैन । बरु फुटपाथ अतिक्रमण बढिरहेको छ । राजधानीका मुख्य सडकका आसपासका पेटी नै अस्तव्यस्त पारेर ठेला, साइकल अनि भुइमै पसल गर्नेहरुलाई बैकल्पिक व्यवस्था सहित व्यवस्थित गर्नुपर्छ । अन्यथा, फुटपाथको अतिक्रमण र व्यवसाय झनै बढ्नेछ । फुटपाथ छोडी सडकबाट हिड्नुपर्दा सर्वसाधारणको जोखिमपुर्ण बाध्यताको उपचार खोज्ने हो की स्थानीय सरकार ?

सडकको यो अप्ठ्यारोलाई विकल्प सहित पन्छाएर सडक, चोक सफा गर्दै देशकै राजधानी शहरको सुन्दरता र मौलिकता बचाउनुपर्छ । काठमाडौं प्रदुषण, फोहोर अनि अस्तव्यस्तताको उदाहरण बन्न हुन्न अनि बन्न दिनुपनि हुन्न । मेयरसाप मत माग्दा गरेका प्रतिवद्धता पुरा त परको कुरा सुधारको सुरुवाती संकेत पनि देखिएन नी ?


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्