Techie IT
Mission Khabar

स्वतन्त्र मधेशका अभियन्ता सिके राउत पक्राउ, राज्यबिप्लव मुद्धामा होला त कारबाही ?


रौतहट/काठमाडौं– स्वतन्त्र मधेसको वकालत गर्दै तराई मधेश क्षेत्रमा शैन्य अभ्यास समेत गर्दै आएका डा. सिके राउत रौतहटको गौरबाट पक्राउ परे । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले राउतलाई पक्राउ गर्दा केही समय बल प्रयोग नै गर्नुपर्यो ।

जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा राउतलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) केदार ढकालले बताए । एसपी ढकालका अनुसार स्वतन्त्र मधेशका अभियन्ता राउत एक सय समर्थकसहित अदालतमा उपस्थित भएको समयमा पक्राउ गर्दा प्रहरी र उनी समर्थकबीच केही समय झडप भएको थियो । प्रहरीले उनीसँगै एक दर्जनबढी समर्थकलाई पक्राउ गरेको घटनामा राउत पक्षका एक दर्जनबढी घाइते नै भए ।

पछिल्लो समय राउत मधेशमा स्वतन्त्र राष्ट्र आवश्यक रहेको भन्दै अभियान चलाउन व्यस्त थिए । उनले अर्ध शैन्य अभ्यास गरेको र तराई क्षेत्रका युवालाई शैन्य अभ्यास गराउदै आएको पाइएको थियो । यसअघि पनि पक्राउ परेर छुटेका राउत बिरुद्ध यो पटक फौजदारी कसुरको परिच्छेद १ को दफा ४९ को ४ बमोजिम राज्य द्रोह विरुद्धको अपराध कसुरमा मुद्धा अघि बढाइने प्रहरीले जनाकारी दिएको छ ।

पहिलो पटक सिराहा जिल्ला अदालतबाट १० हजार रुपैयाँ धरौटीमा रिहा भएका राउतमाथि रुपन्देही प्रहरी कार्यालयमा पुन: राज्य बिरुद्धको संगठित अपराध मुद्दा लागेपनि उनी छुटे । पछिल्लो समय राउत रौतहट जिल्ला अदालतमा नियमित पेशी बुझ्दै आएका थिए ।

मुलुकको सार्वभौमसत्ता अखण्डता वा राष्ट्रिय तथा क्षेत्रिय एकतामा खलल पार्ने खालका गतिबिधि गर्न नमिल्ने व्यवस्था गरिएको यो कसुरको पुष्टि भएमा राउतले ५ बर्षदेखी जन्मकैदसम्मको जेल सजाय भोग्नुपर्नेछ । उनले चलाएको स्वतन्त्र मधेशको गतिविधि र युवा शैन्य अभ्यास विभिन्न समयमा सार्वजनिक हुदै आएपनि उनी लामो समयसम्म खुलेआम हिड्दै आएका थिए ।


क्याटेगोरी : देश / प्रदेश, राजनीति, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्