Techie IT
Mission Khabar

फोहोरबाट मोहोर फलाउने सुर्यबहादुर राई, प्लाष्टिकमा कला भरे आत्मनिर्भर बन्ने प्रेरणादायी पात्र (फोटो डायरी)


उदयपुर– लाखौँ नेपाली युवाहरु रोजगार बन्न भन्दै विदेशमा भौतारिरहेका छन् । खाँडी मुलुकमा कार्यरत नेपालीको पारिश्रमिक त निक्कै न्यून छ । र पनि दैनिक विदेशिनेहरुको संख्या १५ सय भन्दा कम भएको छैन ।

रोजगारी र उच्च शिक्षाका लागि भन्दै बाहिरिने नेपालीहरुको संख्या बढ्दैगर्दा उदयपुर गाइघाटका सुर्यबहादुर राईले भने इच्छा र जाँगर भए स्वदेशमै स्वरोजगार सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । हातमा सीप भए स्वदेशमै पनि श्रम गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन्, राई ।

उनी दिनको केही घण्टा फोहोरको डंगुरमा फालिएको प्लास्टिक खोजिरहेका हुन्छन् । अहिले फाहोरको डंगुरमा फालिएका त्यही प्लास्टिकले उनको आयआर्जनमा परिवर्तन ल्याएको छ भने वातावरण सफा राख्न सहयोग गरिरहेका छन् । ५९ वर्षिय राईको कुनै उद्योग छैन् र यस ब्यवसायमा राईको एक पैसा लगानी पनि छैन । केबल सडक र फोहोरका डंगुरमा फालिएका प्लाष्टिकका डोरी संकलन गरेर उनी चुरुङ्गी, महला, नाम्लो, सोली, फुर्लुङ आदि सामान बनाउछन् । यी सामान एक सय देखि ६ सयसम्म बिक्री हुनेगरेको राई बताउँछन् ।

सडक छेउमा सामान्य चिया पसल गरेर परिवारको खर्च जोहो गर्ने राई फुर्सद मिल्यो की बजारका हार्डवेयर, किराना पसल अगाडी र फोहोरका डंगुरमा फालिएका प्लाष्टिकको डोरी संकलन गररेर पसलमै बसेर सामान बुन्छन् ।

अरुले फालेका प्लास्टिकबाट जीविकोपार्जनमा परिवर्तन ल्याएका राई सानै उमेरमा हजुरबुवाबाट सिकेको सीप आज उपयोगी बनेको बताउँछन् । गाउँमा बाँसको चोयाबाट डोको, डालो जस्ता सामान बनाउने उनले बजारमा बाँस नपाइने, पाइए पनि महंगो पर्ने भएपछि चोया जस्तै प्लाष्टिकको डोरीबाट यस्ता सामाग्री बनाउँदै आएका छन् ।

चिया पसलको सामान्य गुजारामा निक्कै बलियो साहारा बनेको छ, प्लास्टिक र सोही प्लाष्टिकबाट बनाइएका कलात्मक सामाग्रिहरु । राई फोहोरबाट समेत मोहोर बर्सिने कुरामा सबै सहमत भएर मेहनत गर्ने हो भने स्वरोजगार बन्ने धेरै आधार रहेको बताउँछन् । फोहोरमा फलिएको प्लास्टिकलाई कला भर्ने उनको काम साच्चै प्रेरणदायी र उदाहरणिय पनि छ ।


क्याटेगोरी : ओझेलका पात्र, कृषी / उद्यम, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्