Techie IT
Mission Khabar

कार्तिक १२ गतेपछि फ्रि भिषा फ्रि टिकटमा मलेसिया उड्न पाइने, मलेसिया जाने नेपाली कामदारलाई राहत


काठमाडौं– नेपाल र मलेसियाबीच आगामी कात्तिक १२ गते कामदार लैजानेबारे समझदारीपत्र एमओयूमा हस्ताक्षर हुने भएको छ । मलेसियाका मानव संशाधन मन्त्री एम कुलेसागरन कात्तिक ११ गते यहि सम्झौताका लागि काठमाडौं आउने भएका हुन ।

एमओयू भएपछि नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्नेछ । बिचौलियाले संयन्त्र खडा गरेर भिसा प्रक्रियाबाटै कामदार ठगेको गुनासो बढेपछि श्रम मन्त्री गोकर्ण बिष्टको पहलमा नेपाली कामदार मलेसिया जानबाट केही महिनादेखि रोकिदै आएका थिए । एमओयूको मस्यौदमा गत असोज १२ गते नै दुई देशबीच सहमति जुटेपनि एक महिनापछि सम्झौतामा हस्ताक्षर हुँदैछ । समझदारीमा नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति छ । अहिले स्वास्थ्य परीक्षणदेखि लेबीसम्म र टिकटदेखि सेवा शुल्कसम्मका सबै प्रक्रिया सकिँदा र मलेसिया पुग्दासम्म एकजना नेपाली कामदारको सरदर एक लाख रुपैयाँ खर्च हुँदै आएको थियो ।

एमओयूमा हस्ताक्षरपछि नेपाली कामदार निःशूल्क मलेसिया जान पाउनेछन् । कामदार पठाउने म्यानपावर एजेन्सीले सेवाशुल्क बापत कामदारको आधा महिनाको तलब बराबरको रकम पाउनेछन् । यो रकम कामदारको तलबबाट नकाटेर रोजगारदाता कम्पानीले व्यहोर्नेछ । कुनै कामदार मेडिकल र इमिग्रेसन सेक्युरिटी क्लियरेन्समा फेल भएको खण्डमा भने मलेसिया जान नपाउने र प्रोसेसिङमा लागेको खर्च फेल भएको कामदारले नै तिर्नुपर्छ । यो सम्झौतापछि बायोमेट्रिकका नाममा कामदारको स्वास्थ्य परीक्षणमा यसअघि २९ वटा मात्र मेडिकलले चलाएको सिण्डिकेट पनि समाप्त हुने बताइएको छ ।

फ्रि भिसा फ्रि टिकेटको पपुलर पोकोभित्र तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङले ‘बायोमेट्रिक माफिया’ माइग्रामको नयाँ संरचना गठन गरेर असुली र ठगिलाई बैधानिकता दिएको कतिपयको आरोप छ । सम्झौतापछि यी सबै संरचना खारेज हुनेछन् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्