Techie IT
Mission Khabar

विजयादशमीको मुख्य दिन टिका जमरा ग्रहण गरेर रमाईलो गर्दै हिन्दुहरु


काठमाडौं – असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिले विजय प्राप्त गरेको अवशरका रुपमा मनाइने दशै पर्वको आज महत्वपुर्ण दिन विजयादशमी। टिकाको पहिलो दिनलाई दसैंको सबैभन्दा मुख्य दिन मानिन्छ।

हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गर्ने आजको शुभ साइत ९ बजेर ५१ मिनेट रहेको बताइएको छ। आजको दिन आफैंमा शुभ रहेकाले जुनसुकै समयमा पनि टीका लगाउन सकि संस्कृतिविद्हरु बताउँछन् । विजया दशमिको दिन मान्यजनको हातबाट टीका लगाएर आशिर्वाद लिने अनि घटस्थापनाको दिन राखिएको जमरा लगाउने प्रचलन छ। जमरालाई समृद्धिको प्रतीकका रुपमा शिरमा प्रयोग गरिन्छ।
असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको सम्झनामा मनाउने गरिन्छ। कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दशैँलाई लिइन्छ।

दशमीका दिन राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको विशेष चहलपहल रहनेगर्छ । स्वदेश वा विदेशमा रहेका नेपालीहरु दशमीको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन् भने टिका ग्रहण गर्दै रमाईलो गर्ने परम्पराले सदिऔँ देखि निरन्तरता पाएको छ ।

घटस्थापनाका दिन पूजाकोठामा राखिएको जमरा आजकै दिन विसर्जन गरेपछि कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने गरिन्छ । पूर्णिमासँगै दशै समापन हुन्छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्