Techie IT
Mission Khabar

भारतीय प्रहरी र सबैको साथ र सहयोगमा प्रादेशिक सुरक्षा सबल : डीआईजी अमात्य


जनकपुर – चाडपर्वका बेला शान्तिसुरक्षा जटिल विषय बन्ने गर्छ । सुरक्षा निकायले चाडपर्वलाई लक्षित गरी विशेष कार्यक्रम र योजना समेत ल्याउने गर्छन् । २ नम्बर प्रदेशमा दशैंदेखि छठ पर्वसम्म विशेष सुरक्षा बन्दोबस्त मिलाउनुपर्ने हुन्छ ।

चाडपर्वको सुरक्षा योजना र सीके राउतदेखि विप्लव समूहसम्मका गतिविधिबारे २ नम्बर प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश अमात्यसँग लोकान्तरले गरेको कुराकानीको अंश :

विजयादशमी तथा छठ पर्वलाई लक्षित गरेर के कस्तो सुरक्षा योजना तथा रणनीति लागू गर्नुभएको छ ?

– दशैं लगायतका चाडपर्वलाई लक्षित गरेर प्रदेशका ८ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई वैज्ञानिक र व्यवस्थित तरिकाले सुरक्षा योजना बनाएर व्यवस्थित तरिकाले प्रहरी परिचालन गर्न मैले निर्देशन दिएको थिएँ । सोही अनुरुप ८ वटै जिल्लामा प्रहरी परिचालित भएका छन् ।

राजमार्गदेखि ग्रामीण बस्ती तथा शहरी इलाका होस् वा सीमावर्ती इलाका नै किन नहोस् सबै ठाउँमा प्रभावकारी ढंगले प्रहरीको सक्रियता बढाइएको छ ।

राजमार्गमा गुड्ने रात्रीकालीन बस लगायतका सवारीसाधनलाई लक्षित गरेर लुटपाटका घटना नहोस्, सवारी दुर्घटना नहोस् भन्नेतर्फ केन्द्रीत हुँदै ठाउँठाउँमा प्रहरीको चेक प्वाइन्ट, हेल्प डेस्क, रिफ्रेश डेस्क स्थापना गरिएको छ ।

प्रदेशको सर्लाहीको कर्मैया र सप्तरीको शम्भुनाथमा स्थानीय तहसँग समन्वय गर्दै रिफ्रेश डेस्क स्थापना गरिएको छ । त्यहाँ आउने सबै रात्रीकालीन बसलाई रोकेर चालक, सहचालकलाई रोकेर चिया खुवाएर रिफ्रेश गराउने गरिएको छ । २० वटा जति रात्रीकालीन बस भेला भइसकेपछि सबै बसमा सुरक्षाकर्मीलाई राखेर गन्तव्यसम्म पुर्याउने गरिन्छ ।

रात्रीकालीन बसमा लूटपाट हुने गरेका घटना विगतमा हुने गरेकाले बसमै सुरक्षाकर्मी राखेर आफ्नो प्रदेशसम्म सुरक्षा प्रदान गर्दै आएका छौं ।

त्यसैगरी पथलैया, निजगढ, कर्मैया, बर्दिबास, शम्भुनाथ, कोशी ब्यारेज, भारदह लगायतका ठाउँमा हेल्प डेस्क राखिएको छ । बसमा टिकट दिएर नचढाउने, सिट नदिने, बिच बाटोमै ओरालिदिने, निर्धारित दरभन्दा बढी भाडा लिने, दुर्व्यवहार गर्ने लगायतका समस्या समाधान गर्नका लागि हेल्प डेस्क स्थापना गरिएको छ ।

आजसम्म कार्यान्वयन भएको योजनाबाट हामी सन्तुष्ट छौं । यो सुरक्षा योजना छठ पर्वका लागि मंसिर १ गतेसम्म प्रदेशमा लागू रहन्छ । आवश्यकता अनुसार परिमार्जन पनि हुन सक्छ । अहिले त्यही योजनालाई लक्षित गरेर राजमार्ग लगायत विभिन्न ठाउँमा प्रदेश प्रहरी कार्यालयले थप ४ सय प्रहरी परिचालन गरेको छ ।

चाडपर्वका बेलामा भारतबाट घर फर्किंदा सीमा क्षेत्रमा नेपाली लुटिने गर्छन् । अहिले कस्तो अवस्था कस्तो छ ?

– विभिन्न चाडपर्वको मुखमा नेपालीहरू आफ्नो घर फर्किंदा विभिन्न नाकामा विगतमा लुटिने गर्थे । कसैले प्रलोभन दिएर, कसैलाई नशालु पदार्थ सेवन गराएर वा अन्य तरिकाले नेपालीलाई लुट्ने गर्थे । तर, यस पटक हाम्रा ८ वटै जिल्लाका प्रहरी प्रमुखले भारतीय समकक्षीसँग छलफल गरेर भारतीय सुरक्षाकर्मीलाई पनि सतर्क गराइएको छ ।

भारतले पनि सीमावर्ती क्षेत्रमा गस्तीलाई बढाएको छ भने हामीले पनि आफ्नो नाकातर्फ विभिन्न स्थानमा छोटो तथा लामो दूरीसम्मका गस्तीलाई प्रभावकारी बनाएका छौं । साथै सादा पोशाक र पोशाकमै पनि प्रहरीलाई बढी सक्रिय बनाएकाले यो प्रदेशमा यस पटक सीमामा लुटिएको घटना भने भएको छैन । त्यसमा हामीले सफलता हात पारेका छौं ।

प्रदेशमा दूर्गापूजाका लागि पण्डाल बनाउने, मेला लगाउने, भजन सन्ध्यासँगै सांस्कृतिक कार्यक्रम आयोजन हुँदा भक्तजनको भीडभाड बढ्दा केही चोरीका घटना, बलात्कारका घटना पनि भएको छ नि !

– मैले तथ्यांक नै संकलन गरेको छु कि यो प्रदेशका ८ वटै जिल्लामा ३ सय ४७ स्थानमा पण्डाल निर्माण गरेर दूर्गा पूजा गर्ने, पूजाअर्चना गर्ने, प्रार्थना गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने लगायतका काम भइरहेको छ ।

ठूलो संख्यामा उपस्थित हुने भक्तजनको सुरक्षाका लागि पनि हामीले सुरक्षाकर्मी परिचालित गरेका छौं । केही बलात्कारका घटना त्यहाँ मन्दिर भएको स्थानमा नभएर त्यहाँबाट केही पर लगेर घटना भएको कुरा छ ।

सामान्य कुटपिटका घटना पनि आएका छन् । त्यस्ता अपराधका प्रतिवादीलाई पक्राउ गर्न हामी सफल भएका छौं । कुनै अप्रिय घटना भने हामीले हुन दिएका छैनौं ।

महोत्तरीको औरहीमा एक ८ महिने बालिकाको बलात्कार गरेर हत्या गरेको घटनामा प्रतिवादीको पहिचान भइसकेपनि पक्राउ पर्न सकेको छैन । किन ?

– त्यहाँ घटना हुनासाथ प्रहरी परिचालित भएको थियो । महोत्तरी प्रहरीले अनुसन्धान गर्दा प्रतिवादीको पहिचान पनि भएको थियो । अझ त्यस घटनाका प्रतिवादीलाई पक्राउ गर्नकै निम्ति प्रदेश प्रहरी कार्यालयबाट समेत १ सय ५० जनाको सुरक्षाकर्मीको टोली मैले पनि पठाएको थिएँ । तर, त्यहाँ घना उखुखेती भएको एरिया, जंगल समेत भएको हुनाले प्रतिवादी फरार हुन सफल भएपनि हामी पक्राउ गर्न प्रयत्नशील नै छौं । १–२ महिना लुकिछिपी बस्न सकेपनि प्रतिवादीलाई छिट्टै पक्राउ गरेर कानूनको दायरामा ल्याउन सफल हुनेछौं ।

प्रदेशमा महिला हिंसाका घटना, बलात्कारका घटना, एसिड आक्रमणका घटनासम्म भइरहेका छन् । प्रहरीले किन रोक्न सफल भएको छैन ?

– हाम्रो गृहमन्त्री ज्यूको ८२ बुँदे कार्यक्रममा समेत महिला हिंसा न्यूनीकरण गर्ने कार्यक्रम अन्तर्गत हामी अब चाँडै गाउँगाउँ, बस्तीबस्ती, टोलटोलमा जनचेतनाको स्तर बढाउन परिचालित हुँदैछौं । कस्ता–कस्ता घटना कानूनको दायरामा आउन सक्छन् भन्ने कुराको जानकारी दिन पनि हामी जाँदैछौं ।

महिला हिंसाका घटनामा हामी शून्य सहनशील भएर अगाडि जाँदैछौं । प्रतिवादीलाई पक्राउ गरेर कानूनको दायरामा ल्याउन हामी कुनै कसर बाँकी राख्दैनौं ।

प्रदेशमा लागूऔषधको कुलतमा समेत युवाहरू फसेका छन् । त्यसविरुद्ध प्रहरीले के–कस्तो अभियान चलाएको छ ?

– ५ महिनाभित्रमा हामीले प्रदेशको ८ वटै जिल्लाबाट करीब ५ सय जनालाई पक्राउ गरेर लागूऔषधविरुद्ध मुद्दा नै दर्ता गरेर कारबाही अगाडि बढाएका छौं । १ हप्ता पनि भएको छैन, सिराहाबाट हामीले भारी परिणाममा १ जना व्यक्तिको घरबाट लागूऔषध बरामद गरेका छौं ।

प्रहरीले मात्र गरेर हुन्न । समाज नै लागूऔषधविरुद्ध जबसम्म लाग्दैन, नियन्त्रण हुन सक्दैन । सजिलै तरिकाले रुपैयाँ कसरी कमाउन सकिन्छ भन्ने सोचका साथ युवाहरू कुलतमा फसेका छन् । युवा मात्रै होइन, ६५ वर्षका मानिस पनि लागूऔषधमा पक्राउ परेका छन् । त्यसैले सबै पक्ष यस समस्याप्रति गम्भीर हुनु पर्छ ।

प्रदेशमा अवैध गाँजाको खेती पनि हुने गरेको छ नि !

– प्रदेशमा ९० प्रतिशत अवैध गाँजाखेती निर्मुल भइसकेको म दावाका साथ भन्न सक्छु । कोही कसैले लुकिछिपी खेती गरिरहेको छ भने त्यो पनि प्राप्त हुने गरेको सूचनाका आधारमा प्रहरीले नष्ट गर्ने गरेको छ ।
म सप्तरीमा एसपी हुँदा मैले आफैंले पनि ४ तले घरमा प्रत्येक तलामा गाँजाको खेती गरेको पाएको थिएँ । त्यसलाई कारबाही गरेको थिएँ । अहिले यो प्रदेशमा गाँजाखेती भइरहेको छैन ।

तर, यो प्रदेश अहिले पनि अवैध गाँजा तस्करीको लागि ट्रान्जिट प्वाइन्ट रहेको छ नि !

– हो, अन्य प्रदेशमा उत्पादन भएर यो प्रदेशको बाटो प्रयोग गरेर भारतमा तस्करी भइरहेको कुरा हामीले पनि सूचना र जानकारी भने पाएका छौं । विगतमा जस्तो ट्रकमा त होइन तर सानो–सानो पोकामा गाँजाको तस्करी भइरहेको छ भने पनि त्यसविरुद्ध हामी कारबाही गर्न तयार छौं । हामी सक्रिय छौं, त्यस्ता गतिविधि पनि नियन्त्रणमा आउँछन् ।

खुला सीमाका कारण अन्य कुराको पनि तस्करी बढेको छ नि यो प्रदेशमा ?

– ९० प्रतिशतभन्दा बढी तस्करी नियन्त्रणमा आइसकेको छ । चालू आर्थिक वर्षको ३ महिनामा मात्रै यो प्रदेशबाट ९ करोड रुपैयाँसम्मको अवैध वस्तु प्रहरीले जफत गरेर भन्सार तथा राजस्व कार्यालयमा बुझाएको छ । स–सानो पोकामा हुने गरेको तस्करी पनि नियन्त्रित भइसक्यो भनेर म पनि भन्न सक्दिन । धेरै नाकाहरू छन्, प्रहरीलाई छल्दै स–सानो पोकामा तस्करी गर्ने र कहीँकतै डम्प गर्ने र पछि ट्रकमा तस्कारी गर्ने गरेको कुरा भइरहेका छन् ।

भारतको बिहारमा १ ट्रक मरिच बरामद भएको थियो । नेपालबाट त्यो मरिच गएको थियो । स–सानो परिणाममा लुकिछिपी लग्ने र ठूलो परिणाममा भण्डारण भएपछि ट्रकमा लाद्ने गरेको प्रवृत्तिलाई पनि नियन्त्रण गर्न हामी लागि परेका छौं ।

सीके राउतलाई जनकपुरमा खुल्लमखुल्ला कार्यक्रम गर्न दिनुभयो र फेरि रौतहटमा अदालतबाट किन पक्राउ गर्नुभयो ?

– जनकपुरमा असोज ३ गते राउतको कार्यक्रम सफल भयो भन्दा पनि कारबाहीका लागि विश्लेषण गर्दा कुन कानून आकृष्ठ हुन्छ भन्नेतर्फ हामीले हेर्नुपर्छ । अभिव्यक्ति स्वतन्त्रताका आधारमा उनले कार्यक्रम गर्न पाए । तर, जसरी देश बिखण्डनका कुराहरू आयो त्यसकै आधारमा उनीविरुद्ध राज्य विरुद्धको कसूर र संगठित अपराधको मुद्दा अन्तर्गत रौतहटबाट पक्राउ गरिएको हो ।

राउतविरुद्ध त्यही मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा पनि दर्ता भएको छ । उनलाई यहाँ धनुषामा पनि ल्याएर अनुसन्धान गरिन्छ ।

प्रदेशमा विप्लव समूहको के–कस्ता गतिविधि देखिएका छन् ?

विप्लव समूहका करीब ५० देखि ६० जनासम्म कार्यकर्तालाई हामीले पक्राउ गरेका छौं । १ जनालाई त सुतली बमसहित पक्राउ गरेका छौं । शान्ति सुरक्षालाई असर पार्ने कुनै पनि व्यक्ति, समूह वा संगठन वा जुनसुकै पृष्ठभूमि किन नहोस् हामी त्यसलाई चुनौती ठान्दछौं र त्यस्ता चुनौतीको सामना गर्न हामी तयार पनि छौं ।

अहिलेको अनुसन्धानबाट विप्लव समूह भूमिगत भएर हिंसात्मक गतिविधि गर्न सक्ने सम्भावना कतिको देखिएको छ ?

– अहिले अनुसन्धान चली नै रहेको छ । उहाँहरूको हरेक गतिविधिलाई हामीले नजिकबाट नियालिरहेका छौं । उहाँहरूको संगठन विस्तारदेखि अन्य गतिविधिमाथि हाम्रो नजिकबाट निगरानी छ । कानूनविरुद्ध कुनै गतिविधि भए हामी त्यस्ता गतिविधिविरुद्ध कारबाही गर्न तयार छौं ।

अदालतबाट कसूरदार ठहर भएका फरार अपराधीलाई पक्राउ गर्न के–कस्ता योजना छन् ?

– म यो प्रदेशमा आएको ५ महिनाभित्र २ सय ४७ जना फरार प्रतिवादी तथा कसूर ठहर भएका अपराधीलाई पक्राउ गरेर अदालतमा बुझाएका छौं ।

लोकान्तरबाट


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्