Techie IT
Mission Khabar

प्रधानमन्त्री ओलीको स्वास्थ्य : चिकित्सक भन्छन्– क्रमिक सुधार भएकाले तीन दिनमा स्वास्थ्य सामान्य बन्छ, विदेश लग्न पर्दैन


काठमाडौं– छातिमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा भर्ना भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

अस्पतालले पत्रकार सम्मेलन गर्दै छातिमा संक्रमण र शरिरमा चिनिको मात्रा असन्तुलित देखिएपनि स्वास्थ्यमा क्रमिक सुधार भएको जानकारी दिएको हो । सीसीयू कक्षमा उपचाररत प्रधानमन्त्री ओली दुई तीन दिनमै सामान्य अवस्थामा फर्किने भन्दै निजी चिकित्सक दिब्या सिंहले थप उपचारका लागि देश बाहिर लैजान नपर्ने बताइन् । अस्पतालले पनि ओलीको स्वास्थ्य सामान्य रहेको जानकारी दिएको छ । प्रधानमन्त्रीको उपचारमा मुटुरोग बिशेषज्ञ डा. अरुण सायमीको नेतृत्वमा उनका नीजि चिकित्सक मृगौँला रोग बिशेषज्ञ दिब्या सिंह र छातिरोग विशेषज्ञ सन्तकुमार दास खटिएका छन् ।

उपचाररत प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल अस्पताल पुगेका थिए । यस्तै, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, शिक्षामन्त्री गिरिराजमणी पोखरेल लगायतका नेता तथा मन्त्रीले पनि अस्पताल पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनदेखि प्रधानमन्त्री औपचारिक कार्यक्रममा सहभागी भएका थिएनन ।

शनिबारको नेकपाको चियापानमा सहभागी नभएका प्रधानमन्त्री ओली आइतवारको मन्त्रीपरिषद बैठकमा दश मिनेट मात्रै सहभागी भएर बाहिरिएका थिए । यता, प्रधानमन्त्रीको निजी सचिवालयले आगामी १७ गतेसम्म प्रधानमन्त्री ओलीका सबै कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्