Techie IT
Mission Khabar

पूर्वमन्त्री एवं वामपन्थी नेता तुलाधरको निधन, सोमबार अन्त्यष्टि गरिने


काठमाडौं–पूर्वमन्त्री एवं वामपन्थी नेता पद्यरत्न तुलाधरको ७८ बर्षको उमेरमा निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा आईतबार दिउसो पौने एक बजे तुलाधरको निधन भएको हो ।

शुक्रबार मस्तिस्कघात भएका तुलाधरलाई मंगलबार नर्भिक अस्पताल लगिएको थियो । यसअघि उनको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो । तुलाधरको निधनप्रति प्रधानमन्त्री केपी ओलीले दुःख ब्यक्त गरेका छन् । उनले नेपालको वाम आन्दोलनमा तुलाधरले पुर्याएको  योगदान सदा स्मरणीय रहने उल्लेख गरेका छन् । तुलाधरलाई श्रद्धाञ्जली ब्यक्त गर्न नेकपा लगायत विभिन्न दलका नेता तथा सर्वसाधारण अस्पताल पुगेका छन् ।

तुलाधरको सोमबार टेकुस्थित शोभा भगवतीमा अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ । स्वर्गिय तुलाधरका श्रीमति, दुई छोरा र दुई छोरी छन् । तुलाधरले बिक्रम सम्वत दुई हजार ४६ सालमा बहुदलीय ब्यवस्था पुनःस्थापनाको आन्दोलनमा काँग्रेस र कम्युनिष्ट दुबैशक्तिलाई एकै ठाँउमा ल्याउन भुमिका खेलेका थिए । तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन समेत तुलाधरले पहल गरेका थिए । मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा उनको महत्वपूर्ण योगदान छ । नेपाल संवतलाई राष्ट्रिय संवत् तथा शङ्खधर साख्वालाई राष्ट्रिय विभूतिको मान्यता दिलाउन पनि तुलाधरको संघर्ष फलदायी बनेको थियो ।

तत्कालिन नेकपा एमालेको तर्फवाट तुलाधर २०४८ र २०५२ सालमा दुई पटक काठमाडौंवाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । तुलाधर मनमोहन अधिकारी नेतृत्वको सरकारमा २०५१ सालमा स्वास्थ्य मन्त्री समेत बनेका थिए ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्