Techie IT
Mission Khabar

हिन्दुहरुको दोश्रो ठूलो चाड तिहार सुरु, कागलाई मिठो भोजन गराएर कागतिहार मनाइदै


काठमाडौं – कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड तिहास सुरु भएको छ । प्रत्येक वर्ष मनाइने यमपञ्चक अर्थात् तिहार आजबाट शुरु भएको हो । पहिलो दिन आज कागको पूजा गरेर तिहारको सुभारम्भ गरिदैछ ।

यो दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने जनविश्वास रहिआएको छ । कागलाई यमदूत र प्रकृतिको कुचिकारका रुपमा हेर्ने गरिन्छ । बिहानैदेखि काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकास्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवको पूजा गर्नेहरुको भीड लागेको छ । बेलुकादेखि घरघरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने प्रचलन छ ।

यमपञ्चकको दोस्रो दिन कुकर तिहार र तेस्रो दिन लक्ष्मी पूजा गर्नेगरिन्छ । चौथो दिन गोबर्द्धन पूजा गरेपछि पाँचौं दिन भाइटीका लगाएपछि तिहार समापन हुन्छ ।

भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याहृन ११ बजेर ५५ मिनेटमा उत्तम हुने पञ्चाङ्ग निर्णायक समिति तय गरेको छ । चन्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहारलाई फूल र उज्यालोको पर्वका रुपमा पनि लिने गरिन्छ । यो पर्वमा घर तथा कार्यालय झिलीमिली पारेर लक्ष्मीलाई स्वागत गर्ने परम्पराले निरन्तरता पाउदै आएको छ ।

यमपञ्चकको अवधिमा यमराज पनि आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा बस्ने विश्वास गर्ने गरिन्छ । यसर्थ तिहारको पाँच दिनलाई यमपञ्चकका रुपमा लिने गरिएको किबंदन्ती छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्