Techie IT
Mission Khabar

रुप्से स्वास्थ्य चौकीले थाल्यो नयाँ भवनबाट सेवा, स्थानीय तहमै पाइएला त गुणस्तरिय उपचार ?


अनु खनाल । पाल्पा– प्रदेश–५ को पाल्पास्थित माथागढी गाउँपालिका–२ रुप्सेमा २० कोठाको प्राथमिक उपचारका लागि सुविधायुक्त स्वास्थ्यचौकी सञ्चालनमा आएको छ ।

बर्थिङ्ग सेन्टर सहित स्वास्थ चौकीका लागि आवश्यक भवन हस्तान्तरण गरिएसँगै स्थानीय स्वास्थ्य चौकीको प्राथमिक उपचार सेवा भरपर्दो हुने भएको हो । एकीकृत स्वास्थ्य कार्यक्रम अन्र्तगत सञ्चालित भवन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पाल्पाले २ करोड १७ लाख लागतमा निर्माण गरेर रुप्से स्वास्थ्य चौकीलाई उपलब्ध गराएसँगै सहज उपचार पाउने आशामा स्थानीय पनि खुसी छन् ।

मासिक ३ सय जनालाई उपचार सेवा दिदै आएको स्वास्थ्य चौकीको सेवा थप विस्तार हुने अपेक्षा गरिएको छ । पधमराज काफ्लेबाट उपलब्ध ५ रोपनी र टेक बहादुर सारुले समेत दिएको जग्गा दानबाट निर्मित स्वास्थ्य चौकीमा २० कोठा, बालमैत्री र अपांगमैत्री ४ वटा शौचालय र एउटा कार्यक्रम हल रहेको छ । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर तथा रुप्से स्वास्थ्यचौकीका प्रमुख रामप्रसाद अर्यालले भवन निर्माणसँगै उपचार सेवामा सहजता हुने विश्वास व्यक्त गरे ।

अझ, यो स्वास्थ्य चौकीले बर्थिङ्ग सेन्टर पनि सञ्चालनमा ल्याएर स्थानिय स्तरमै सहज डेलिभरी सेवा दिने प्रयास गरेको छ । स्थानीय स्तरमै गुणस्तरिय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य सहित निर्मित भवन र स्वास्थ्य चौकीको सेवा साँच्चै जनमुखी बन्ला त ? प्रतिक्षा बाँकी नै छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्