Techie IT
Mission Khabar

कोलम्बो बैठक : आप्रवासी श्रमिकको साझा चासो र सामूहिक हितमा छलफल


काठमाडौं–आप्रवासी श्रमिकका साझा चासो तथा सामूहिक हितका विषयमा छलफल गर्न ‘कोलम्बो प्रोसेस’ मा आबद्ध एसियाका १२ देशको छैटौँ बैठक काठमाडौँमा सुरु भएकाे छ । सचिवस्तरीय बैठकले मन्त्रिस्तरीय परामर्श बैठकको कार्यसूचि, कार्यक्रम र निर्णयका विषयवस्तु सिफारिश गर्नेछ ।

शुक्रबार हुने मन्त्रिस्तरीय परामर्श बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नेछन् । बैठकको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गर्नेछन् । प्रत्येक दुई वर्षमा हुने बैठकमा सहभागी देशका मन्त्रीविच आप्रवासनका सम्बन्धमा विभिन्न सिफारिश र कार्ययोजनामाथि छलफल हुनेछ । दुई दिनसम्म हुने बैठकमा सदस्य मुलुकबिच अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धनमा आधारित श्रमका विषयमा परामर्श हुने बताइएको छ । बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता ‘जिसिएम’ कार्यान्वयनका क्रममा कोलम्बो प्रोसेसका सदस्य राष्ट्रले अवलम्बन गर्नुपर्ने नीति, रणनीति र हासिल गर्न सक्ने लाभका विषयमा प्रस्तुति एवं छलफल हुनेछ ।

अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्याण्ड र भियतनाम कोलम्बो प्रोसेसका सदस्य राष्ट्र हुन् । सन् २०१७ मार्च २९ देखि नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्