Techie IT
Mission Khabar

धान उत्पादन १० प्रतिशतले बृद्धी, ३ लाख मेट्रिक टन बढी चामलामा अझै छ परनिर्भरता


काठमाडौं–कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष अहिलेसम्मकै सबैभन्दा बढी ५४ लाख ३० हजार मेट्रिक टन धान उत्पादन हुने प्रारम्भिक अनुमान गरेको छ । यो उत्पादन अघिल्लो वर्षभन्दा १० प्रतिशतले बढी हो ।

२०७४ मा ५१ लाख ५२ हजार मेट्रिक टन धान फलेको थियो । यसअघि २०७३ मा सर्वा्धिक ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको थियो । धान नेपालको प्रमुख खाद्यान्न बाली भएपनि युवा जनशक्तिको विदेश पलायन बढेसँगै धान उत्पादनमा बर्षेनी र्हास आउने गरेको छ । यो वर्षको धान एक खर्ब ३० अर्ब मूल्यको हुने सरकारी अनुमान छ । धान उत्पादन वृद्धि हुँदा अर्थतन्त्र पनि बलियो हुन्छ । रोपाइँको समयमा देशभर मनसुनी वर्षा सक्रिय भएकाले धान उत्पादन बढेको हो । किसानले बढी उत्पादकत्व दिने बीउ प्रयोग गर्नु, रोग कीराको प्रकोप नहुनु र रासायनिक मल पनि समयमै उपलब्ध हुँदा यसको प्रभाव उत्पादनमा देखिएको छ ।

१५ लाख ५२ हजार हेक्टर धानखेतमध्ये यो वर्ष १४ लाख ८० हजार हेक्टरमा रोपाइँ भएको थियो । यो करिब कुल खेतको ९६ प्रतिशत हो । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७.५ प्रतिशत जमिनमा धानखेती हुँदैआएको छ । क्षेत्रफल र उत्पादनका आधारमा तराईको हिस्सा ७० प्रतिशत रहेको छ । यसैले तराई क्षेत्रलाई देशको अन्न भण्डारका रुपमा अर्थ्याउने गरिएको छ । धान उत्पादन वृद्धिले यो वर्ष कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) पनि बढ्ने अनुमान गरिएको छ । कृषिको योगदान जीडीपीमा २७ प्रतिशत र कुल ग्रार्हस्थ उत्पादनमा २०.७५ प्रतिशत रहँदैआएको छ । जीडीपीमा धानको मात्रै योगदान सात प्रतिशत छ ।

धान उत्पादन १० प्रतिशतले तलमाथि हुँदा जीडीपीमा एक प्रतिशतले घटबढ हुन्छ । यो वर्ष उत्पादित धानको मूल्यले जीडीपीमा करिब एक खर्ब ३० अर्ब ३२ करोड मूल्यकोे योगदान पुग्ने अनुमान गरिएको छ । नेपालको कुल जनसंख्या करिब दुई करोड ८९ लाख ८२ हजार सात सय ७१ जनालाई वर्षभर दुई छाक अर्थात पेटभर भात खान ३९ लाख ९९ हजार ६ सय २२ मेट्रिक टन चामल आवश्यक पर्छ । खाद्य तथा पोषणका आधारमा प्रतिव्यक्ति प्रतिवर्ष एक सय ३८ किलो चामल आवश्यक मानिन्छ । यो वर्ष स्वदेशमा उत्पादन हुने प्रक्षेपण गरिएको करिब ५४ लाख ३० हजार मेट्रिक टन धान प्रशोधन गर्दा ३६ लाख ९२ हजार चार सय मेट्रिक टन चामल तयार हुन्छ । जुन सय किलो धान प्रशोधन गर्दा ६८ किलो चामल तयार हुने आधारमा अनुमानित परिणाम हो ।

यसरी हेर्दा यो वर्ष स्वदेश िधानबाट उत्पादन हुने चामलले वर्षभरि सारा नेपालीको पेट भर्न पुग्दैन । ३ लाख ७ हजार २ सय २२ मेट्रिक टन चामलका लागि आयतायतमा भर पर्नुपर्ने हुन्छ । नेपालमा चामल भारतसहित तेस्रो मुलुकबाट आयात हुँदै आएको छ । साउनदेखि असोजसम्म १२ अर्ब रुपैयाँबराबरको खाद्यान्न आयात भएकोमा चामलमात्रै झण्डै दुई लाख मेट्रिक टन ७ अर्ब ६३ करोड रुपैयाँको बराबरको आयात भएको छ । भन्सारको तथ्यांकअनुसार गत आर्थिक वर्षमा धान, चामल र टुक्रे चामल ७३ करोड ७४ लाख ५९ किलो २९ अर्ब ३६ करोड ३६ लाख मूल्य बराबरको आयत भएको देखिन्छ ।


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्