Techie IT
Mission Khabar

पाल्पामा मानवअधिकारको अवस्था खस्किदै, शिक्षा, स्वास्थ्य र खाद्य अधिकारबाट अधिकांश बञ्चित रहनुपरेको खुलाशा


अनु खनाल । पाल्पा –जिल्लामा सन् २०१७ को तुलनामा २०१८ मा महिला तथा बालबालिका माथिको हिंसाका घटनामा बृद्धी भएको पाइएको छ ।

अनौपचारिक सेवा केन्द्र इन्सेक पाल्पाका अनुसार चालू बर्षको यो अवधिमा ३ बालिकामाथि बलात्कार प्रयास भएको र ३ बालिका बलात्कारजन्य हिंसाबाट पीडित भएका छन् । महिलामाथि बलात्कार प्रयासका घटना ३ वटा भएको पाल्पामा ५ वटा बलात्कारका घटना भएको इन्सेक पाल्पाका जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना जानकारी दिए । इन्सेकले संलकन गरेको जिल्लाको मानवअधिकार बारे जानकारी दिदै उनले एउटा बोक्सी आरोपको घटना र एउटा बालबालिका बेचेविखनको घटना भएको जानकारी दिए । यति मात्रै होइन्, पाल्पाको मानवअधिकारको अवस्था निक्कै कमजोर देखिएको छ ।

पाल्पा कारागारका पुरुष बन्दीहरु जोखिम मोलेर जीर्ण भवनमा बस्न बाध्य भएको, बजार अनुगमन सदरमुकाम केन्द्रीत र चाडपर्वको समयमा मात्रै गरिदा अखाद्य बस्तुको बिक्री वितरण बढेको, फरक क्षमता भएका र विपन्न समुदायका कतिपय बालबालिकाहरुले १ पटक पनि विद्यालय नदेखेको समेत इन्सेकले औल्याएको छ । गाउँपालिकाहरुले समेत पुर्ण भर्ना सुनिश्चित घोषणा गरेको, जिल्ला अस्पताल सहित ग्रामीण स्वास्थ्य चौकीहरुको सेवा प्रवाहमा समयसापेक्ष सुधार हुन नसकेको, बालबिवाह समेत जिल्लामा अझै कायम देखिदा मानवअधिकारको पूर्ण बहाली नभएको पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तानसेनमा आयोजना गरेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल,जिल्ला समन्वय समितिकी उपप्रमुख मिरा मरासिनी, तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मी पाठक, बरिष्ठ पत्रकार मेघराज शर्मा लगायतले जिल्लामा मानव अधिकारको पूर्ण प्रत्याभुती नहुनु दुःखद भएको भन्दै सरकारवाला पक्ष जिम्मेवार र सजग हुनुपर्ने बताए ।

बुद्धिजीवि बृद्धिप्रसाद शर्मा, मानवअधिकारकर्मी रुद्र मश्रांगी, ठाकुर प्रसाद लोहागुन, मानवअधिकार सरोकार केन्द्रका केन्द्रीय सदस्य दिवाकर पाण्डे, पाल्पा ब्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेल, पत्रकार महासंघका सचिव किरण कौशल, प्रेस चौतारी पाल्पाका अध्यक्ष राजेन्द्र लिगल, सचिव कृष्ण कार्की, गैरसरकारी संस्था महासंघका अध्यक्ष भेषराज तिमिल्सिना, मानवअधिकारकर्मी तुल्सी गैरे, पत्रकार कृष्ण पोखरेल लगायतले इन्सेक पाल्पाले सार्वजनिक गरेको प्रतिवेदनमाथि सुझाब सहितको टिप्पणी गरे ।

इन्सेकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जिल्लामा मानवअधिकारको अवस्था विगत भन्दा खस्किएको पाइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्