Techie IT
Mission Khabar

दुई महिनादेखी बन्द हुम्लाका १० वटा स्वास्थ्य चौकी अझै खुलेनन्, चिसो बढेसँगै बिरामी थप मारमा


हुम्ला– जिल्लाको सर्केगार्ड सिमिकोट र नम्खा गाउँपालिका १० वटा स्वास्थ्य चौकी दुई महिनादेखी बन्द भएपछि स्थानीय मारमा परेका छन् । सर्केगार्ड गाउँपालिकाका ५, सिमकोट गाउँपालिकाका स्याँडा, बरगाउँ र ठेहे, नाम्खा गाँउपालिकाका हेप्का र लिमि स्वास्थ्य चौकी दुई महिनादेखि बन्द रहँदा स्थानीय मारमा परेका हुन् ।

स्वास्थ्य विभागले वैकल्पिक व्यवस्था नै नगरी जिल्लाबाट २४ जना अनमी, चार जना अहेव र तीन जना एचएको सरुवा गरेपछि १० ओटा स्वास्थ्य चौकी बन्द हुन पुगेका हुन् । स्थानीय तहमा सञ्चालित स्वास्थ्य चौकी बन्द भएपछि चार–पाँच घण्टाको पैदल यात्राबाट विरामीलाई छिमेकी गाउँको स्वास्थ्य चौकी तथा जिल्ला अस्पताल पुर्याउनुपर्ने बाध्यता आइपरेको सिमिकोट गाउँपालिका–८ का हर्कवीर शाहीले बताए । यता, सर्केगार्ड गाउँपालिका–५ नम्बर वडाको वडा अध्यक्ष कर्णजङ्ग शाही पनि स्थानीय तहका स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीबन्द भएपछि स्थानीय समस्यामा परेको बताउँछन् । उनले स्वास्थ्यकर्मी व्यवस्था गरेर खुलाउने बारे स्थानीय तहले पहल गरिरहेको भएपनि सुनुवाई नभएको बताए ।

गत वर्षको यही समयमा ४२ जना स्वास्थ्यकर्मी जिल्लामा नयाँ नियुक्त भएर आएपनि एक वर्ष नपुग्दै १७ जना सरुवा भएका थिए । कतिपय स्वास्थ्यकर्मी त दरबन्दी अनसार जिल्ला मै नआई सरुवा हुँदै आएका छन् । जिल्ला अस्पतालले पहल गरेपनि सुनुवाई नभएको जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर टसी लामाले बताए । चिसो बढेसँगै जिल्लामा रोगको प्रकोप बढ्ने भएपनि टाढासम्म धाउनुपर्ने बाध्यता जिल्लामा फेरी सुरु भएको छ ।

प्रायः समय सिटामोल सहितका औषधी अभाव हुने हुम्लामा पटक–पटक स्वास्थ्यकर्मीको अभाव दोहोरिदै आएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्