Techie IT
Mission Khabar

वाइडबडी खरिद प्रक्रिया छानविनमा संसदका समितिबीच प्रतिस्पर्धा, घाटाको ब्यापार गर्दै नेपाल एयरलाईन्स


काठमाडौं–निरन्तर घाटाको व्यापार गरिरहेको नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी जहाज निरन्तर बहस र बिवादको बिषय बनिरहेको छ ।

कहिले भाडामा लिएको वा किनेको नखुलेको भन्दै त कहिले खरिदमै ठूलो आर्थिक अनियमितता गरेको भन्दै वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार विवादमा छन् । सांसदहरुले समेत अनियमितताको आशंका गर्दै जनतालाई वास्तविकताको जानकारी दिनुपर्ने माग गरिरहेका छन् । यसरी खरिद प्रक्रियाले चौतर्फी चासो पैदा गरिरहँदा संसदका समिति नै छानविनको प्रतिस्पर्धामा उत्रिएका छन् ।

वाइडबडी खरिद बारे लेखा समितिमा बहस मात्रै भएन् । छानविन गर्न भन्दै सम्बन्धित मन्त्रालय, महाप्रबन्धक लगायतलाई बोलाएर बहस गरियो । लेखाले छानविन गर्न भनेर कागजात मागिरहँदा फेरी संघीय संसदको अर्को समिति अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका पदाधिकारीलाई बोलाएर खरिद प्रक्रिया बारे जानकारी लिएको छ । समिति सदस्यले खरिद प्रक्रिया अपारदर्शी देखिएको भन्दै छानविनको माग गरेपछि तीन सदस्यीय उपसमिति नै गठन गरेर खरिदका सम्पूर्ण कागजपत्र माग गरिएको छ ।

यता, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको प्रष्टिकरण दिदै २४ घण्टाभित्र कागजपत्र उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । लेखा समितिको छानविनमा बिलम्ब भैरहँदा फेरी अर्को समिति तातेको छ । यसले जनचासो जगाउने मात्रै हो वा वास्तवितकता बाहिर ल्यउने गरि छानविन प्रक्रियालाई अघि बढाउने हो ? अहिले नै यसै भन्ने अवस्था छैन ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्