Techie IT
Mission Khabar

बढ्दैछ अमेरिका पुग्ने नेपाली, पछिल्लो १० बर्षमै एक लाख बढीले लिए ग्रिनकार्ड


काठमाडौं– धेरैका लागि अझैपनि सपनाको शहर हो अमेरिका । अमेरिका पुग्न पाए हुन्थ्यो भन्नेहरु अझैपनि करोडौँ छन् । नेपाली मात्रै होइन्, विश्वका विभिन्न मुलुकका नागरिकका लागि सपनाको देश बन्दै आएको छ, अमेरिका ।

हजारौँले अहिलेपनि अमेरिकाको सपना साच्दैगर्दा विभिन्न वहानामा अमेरिका पुगेका नेपालीमध्ये १ लाखभन्दा बढीले ग्रिनकार्ड लिएको पाइएको छ । यो पछिल्लो १० वर्षमा ग्रिनकार्ड लिनेहरुको संख्या हो । अमेरिकी रेकर्ड अनुसार केहीले शरणार्थीको हैसियत माग गर्दै त केहीले कार्यक्षमताको आधारमा ग्रिनकार्ड लिएका छन् । डाइभर्सिटी भिसा (डिभी) मार्फत् र अमेरिकी नागरिकको नातेदार भएको प्रमाण पुर्याएर ग्रिनकार्ड लिनेहरुको संख्या पनि निक्कै ठूलो छ ।

अमेरिकी सरकारले निश्चित मापदण्ड पूरा गरेपछि मात्र आप्रवासीहरुलाई अमेरिकामा स्थायी बसोबास (पीआर) अर्थात् ग्रिनकार्ड उपलब्ध गराउँने गरेको छ । प्रत्येक वर्ष १ लाखभन्दा बढी आप्रवासीले अमेरिकामा स्थायी बसोबासको लागि ग्रिनकार्ड पाउदैआएका छन् । अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पछिल्लो समय सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार सन् २००८ देखि २०१८ मार्च सम्म अर्थात १० वर्ष ३ महिनाको अवधिमा १ लाख २ हजार ७ सय ५५ नेपालीले अमेरिकामा स्थायी बसोबासका लागि ग्रिन कार्ड लिएका छन् । यो अवधिमा विभिन्न भिसामा अमेरिका पुग्ने नेपालीको संख्या २ लाख १९ हजार ३ सय ५९ पुगेको छ ।

पछिल्लो ७ वर्षयता प्रत्येक वर्ष १० हजारभन्दा बढी नेपालीले ग्रिनकार्ड पाएको देखिन्छ । सबैभन्दा बढी सन् २०१३ मा १३ हजार ४६ नेपालीले र सन् २००८ मा सबैभन्दा कम ४ हजार ९३ ले ग्रिनकार्ड पाएका छन् । सन् २०१८ को पहिलो तीन महिनामै २ हजार ७ सय ६५ जना नेपालीले अमेरिकी ग्रिनकार्ड लिएका छन् । यसरी हेर्दा अमेरिका पुग्ने र ग्रिनकार्ड लिने नेपालीको संख्या बर्सेनी बढ्दो छ ।

होमल्याण्ड सेक्युरिटीका अनुसार सन् २०१७ मा अमेरिकामा ग्रिनकार्ड पाउने ११ हजार ६ सय १० नेपालीमध्ये शरणार्थीको हैसियत माग्दै ३ हजार २ सय ८७, डिभी मार्फत ३ हजार २ सय ५, रोजगार मार्फत १ हजार ३ सय ५५, अमेरिकी नागरिकसँगको सम्बन्धको कारण २ हजार ६ सय ८४, आफ्नो परिवारको सदस्यका कारण १ हजार ६४ र अन्य कारण १५ जनाले ग्रिन कार्ड लिएका छन् । यी मध्येपनि सबैभन्दा बढी न्यूयोर्क क्षेत्रमा बस्ने नेपालीले ग्रिनकार्ड पाएका छन् ।

सन् २०१७ मा न्यूयोर्कबाट १ हजार १ सय ९७ जना, वासिङ्टनबाट ८ सय ६५ र सनफ्रान्सिस्कोबाट ४ सय ३५ नेपालीले ग्रिनकार्ड लिएका छन् । यस्तै, लस एन्जलसबाट २ सय ४९, डलासबाट ९ सय ६८, बोस्टनबाट ३ सय ९३, बाल्टीमोरबाट ४ सय ७८ नेपालीले ग्रिनकार्ड लिएको रेकर्ड छ । अमेरिकाको प्रायः सबै राज्यबाट नेपालीले ग्रिनकार्ड पाएको देखिन्छ ।

पछिल्लो वर्ष करिब ४० हजार नेपाली विभिन्न भिसामा अमेरिका पुगेका छन् । यीमध्ये कति फर्किन्छन् र कति त्यहीँ बसेर ग्रिनकार्डको लागि आवेदन दिन्छन ? केही समयपछि खुल्नेछ ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्