Techie IT
Mission Khabar

लागूऔषधको उच्च जोखिममा नेपाल, ओसारपसार र दुर्ब्यसन रोक्ने सरकारी प्रयास प्रभावहीन


काठमाडौं– विकास र समृद्धीको गतिमा निक्कै पछाडी रहेको नेपाल बिकृतिमा भने निक्कै अगाडी छ । विदेशी मुद्रा तथा अबैध सुनको ओसारपसारको ट्रान्जिट बनेको नेपाली भूमि लागूऔषध ओसारपसारमा झनै बढि दुरुपयोग हुँदै आएको छ । नेपाल लागूऔषधको ट्रान्जिट बन्दैगर्दा हरेक बर्ष दुर्ब्यसनीको संख्या पनि बढिरहेको छ ।

बार्षिक ११ दशमलब ३६ प्रतिशतले लागू औषध दुर्ब्यसनीहरु बढ्दा महिनामै सयौँ व्यक्तिहरु लागूऔषध सहित पक्राउ परिरहेका छन् । यसरी पक्राउ पर्नेमा सबैभन्दा बढी भारतीय नागरिक छन्, भने अन्य देशका नागरिकको संख्यापनि निक्कै ठूलो छ । अधिकांश ओसारपसार र कारोबारमा विदेशी नागरिकको संलग्नता खुल्नुले नेपाल खात, कोकिन, खैरो हिरोइन लगायतका लागूऔषधको ट्रान्जीट बनिरहेको कुरालाई पुष्टि गरिरहेको छ ।

लागू औषध नियन्त्रण ब्यूरोको पछिल्लो २ वर्षको तथ्यांकले आठ हजार ४ सय २९ जनालाई पक्राउ गरेर मुद्धा चलाएको देखाएको छ । यो कारबाहीबाट १२ करोड ५४ लाख ६० हजार बराबरको लागू औषध बरामद गरेर नष्ट गरिएको छ । यसरी लागू औषध सहित व्यक्ति पक्राउ पर्ने क्रम बढ्नु र अधिकांश ओसारपसारमा विदेशीको संलग्नता खुल्नुले नेपाली भूमी विदेशी लागू औषध कारोबारीले ट्रान्जिटका रुपमा दुरुपयोग गरेको देखिन्छ ।

नेपाल लागूऔषध ओसारपसार र प्रयोगको उच्च जोखिममा पर्दा बर्षेनी युवाहरु कुलतमा पर्ने क्रम बढिरहेको छ । सन् २०१६ मा ३ हजार ६ सय ९६ कारोबारी पक्राउ परेकोमा २०१७ मा पनि क्रमिक रुपमा बढेको देखिन्छ । सन् २०१८ मा ४ हजार ४ सय ८८ कारोबारी पक्राउ पर्नुले लागू औषधको ओसारपसार र जोखिम बढ्दो क्रममा रहेको देखिन्छ । हरेक महिना डाइजेपाम, लुपिजेसीक, फेनारगन, गाँजा, चरेस, खात सहित सयौँ कारोबारी प्रहरी नियन्त्रणमा आइरहेका छन् । तर दुर्ब्यसनीको संख्या र कारोबार रोकिनुको साटो उल्टै गतिमा बढिरहेको छ ।

मनोचिकित्सकहरु दुर्ब्यसनीको कारण पत्ता लगाएर निवारण खोजिनुपर्ने बताउँछन् । पछिल्लो पाँच वर्षमा ७ सय ७५ भारतीय सहित ८ सय ७६ विदेशी नागरिक आगूऔषध ओसारपसार गर्दैगर्दा नियन्त्रणमा आएका छन् । विरगञ्ज र नेपालगञ्ज लागूऔषध निकासीपैठारीका मुख्य नाकाका रुपमा परिचित बन्दैगर्दा कारोबारको तौरतरिका बदलिदो छ ।

अन्तर्राष्ट्रिय सञ्जालमार्फत नेपाली युवालाई प्रलोभनमा पारेर नेपाली भूमिमार्फत भैरहेको लागूऔषध ओसारपसार रोख्न राज्यले ठूलै हिम्मत गर्नुपर्छ । विमानस्थल र सीमा नाकामा राज्यको नियमन र प्रभावकारी उपस्थिति बढाउने हो भने पनि लागू औषधको ओसारपसार रोख्न मद्धत मिल्नेछ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्