Techie IT
Mission Khabar

राजदुत शेर्पा बारेको छानबिन प्रतिवेदन परराष्ट्र मन्त्रालयमा, स्वनिर्णय मार्फत निकास दिन सुझाब


काठमाडौं– मानव तस्करीको आरोप लागेपछि विवादमा आएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । सरकारले बनाएको समितिले सोमबार आफ्नो प्रतिवेदन परराष्ट्र सचिव शंकरदास बैरागीलाई बुझाएको हो ।

प्रतिवेदनबारे विस्तृत विवरण सार्वजनिक नगरिएपनि राजदूतले स्वनिर्णय गरेर यो विषयलाई निकास दिनुपर्ने निष्कर्ष समितिको छ । माओवादी कोटामा राजदूत बनेकी शेर्पालाई उनकै सवारी चालक ओङ्छु शेर्पाले मानव तस्करी गरेको र ठगी गरेको आरोप लगाएका थिए । राजदूत शेर्पाले अस्ट्रेलियाबाट पठाएको आरोप माथिको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै परराष्ट्र मन्त्रालयले उनलाई नेपालमै बोलाएको थियो । परराष्ट्र मन्त्रालयले राजदूत शेर्पामाथि लागेको आरोपमाथी छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको थियो ।

परराष्ट्र मन्त्रालयका पश्चिम एसिया हेर्ने सहसचिव तापस अधिकारीको नेतृत्वमा बनेको समितिको प्रतिवेदन अध्ययन गरेपछि परराष्ट्रले आवश्यक प्रक्रिया अघि बढाउने छ । राजदुत शेर्पा अहिले यही निर्णयको प्रतिक्षामा छिन् । परराष्ट्र श्रोतका अनुसार शेर्पा पुनः अष्ट्रेलियामा राजदुतका रुपमा फर्कने सम्भावना निक्कै कम छ ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्