Techie IT
Mission Khabar

नेपाली चेलीबेटीको बेचबिखन राज्यका लागि चुनौती, पछिल्लो दुई महिनामा भारतबाट १ सय बढीको उद्धार


काठमाडौं–नेपाली चेलीबेटीहरु हिंसाको मात्रै होइन्, बेचबिखनको पनि उत्तिकै जोखिममा रहेको पाइएको छ । पछिल्लो दुई महिनाको अवधीमा भारतबाट एक सय दुई जना नेपाली चेलीहरु उद्धार गरिएको घटनाले यो जोखिम प्रस्ट्याएको हो ।

भारतीय बाटो हुँदै तेश्रो मुलुकमा लैजान लागिएका र भारतीय कोठीमा बेच्न लागिएको अवस्थामा नेपाली चेलीहरूलाई उद्धार हुँदै आएका छन् । नेपाली जनसम्पर्क समिति, भारत र माइती ईण्डियाले भारतस्थित नेपाली दुतावास र भारतीय गृह मन्त्रालयसँगको समन्वयमा भारतस्थित अहमदावाद, बैङलोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीलाई उद्धार गरेर मंगलबार काठमाडौं ल्याएको छ ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपाल सरकारको किर्ते छाप र लेटरप्याड प्रयोग गरिएको कागजात मार्फत नेपाली चेलीलाई तेश्रो मुलुक लैजान लागिएको अवस्थामा ४० जना चेलीहरुलाई उद्धार गरिएको बताए । अहमदाबादबाट ५ ब्याङ्गलोरबाट ८ जनालाई उद्धार गरेर ल्याइएको बताउने उनी यसअघि नै २७ जनाको उद्धार गरिएको बताउँछन् । उद्धार गरिएका महिला १८ देखि ४० वर्ष समूहका छन् ।

ओमन, दुबइ, साउदी, अफ्रिका जस्ता देशमा पठाउने भनि सबै काजजात नक्कली बनाएर भारत पुर्याएको पाइनुले नेपाली चेलीलाई तेश्रो मुलुकमा गैह्र कानुनी बाटोबाट बेच्न निक्कै ठूलो गिरोह सक्रिय बनेको देखिन्छ । दुबै देशले नेपाल भारत सीमाको निगरानी बढाउनुपर्ने आवश्यकता बढाएको यो घटनाले प्रलोभनमा फस्ने नेपालीहरुको संख्या बढेको देखाएको छ । उद्धार गरिएका महिलालाई केन्द्रीय अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको छ ।

प्रहरीले यसको अनुसन्धानलाई अघि बढाएर बेचबिखनमा संलग्नको खोजि कार्यलाई तिब्रता दिनुका साथै यस्ता गिरोहको पहिचानमा पनि उत्तिकै सक्रियता बढाउनुपर्ने देखिन्छ ।


क्याटेगोरी : ओझेलका पात्र, जीवन भोगाई, देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्