Techie IT
Mission Khabar

स्वार्थ समूहको नेताबाट सम्भव नहुने सम्बृद्ध नेपाल र सुःखी नेपालीको सपना, यसरी पुरा गरौँ…..


खबर विश्लेषण । काठमाडौं– आवरणमा स्थायीत्व र समृद्धीका कुरा गर्ने नेपालका राजनीतिक दलहरु भित्रभित्र गुटगत झुण्डको चपेटामा छन् । चरम गुटबन्दीका कारण नेतृत्वले सही रुपमा नागरिक र राष्ट्रका लागी काम गर्न सक्ने अवस्था छैन । गुटबन्दीको रोग नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, संघिय समाजवादी फोरम, राष्टिय जनता पाटी लगायतका सबैजसो दलमा छ ।

नेतृत्वदायी भुमिकामा रहेका दलहरु नै गुटैगुटले थलिदा देश, जनता र दलगत एजेण्डा भन्दा नेताहरुको स्वार्थमा राजनीति देश देशको गति रुमलिएको छ । यसले केही नेता र व्यवसायीलाई लाभ दिलाएपनि नागरिकमा निरासा बढाएको छ । आफ्नै पार्टी भित्रको गुट र उपगुटलाई व्यवस्थापन गरेर लोकतान्त्रिक अभ्यास बसाउन नसक्ने नेताहरुले देशको नेतृत्व गर्ने क्षमता कसरी पुरा गर्छन ? आम नागरिक प्रश्न गरिरहेका छन् । अब राजनीतिक दलका शिर्ष नेताहरुले सवैभन्दा पहिले गुटैगुटको आन्तरिक किचलो मिलाएर देशलाई नेतृत्व दिनसक्छु भनेर विश्वास दिलाउने काम गर्नुपर्छ । हैन भने आम नागरिकमा बढ्दै गरेको निराशाले नेता बिरुद्ध अनि सरकार बिरुद्धको जनभावना बढाउने छ । यसले स्थायीत्व र विकास हैन, अशान्ति र अस्थिरता दिनेछ । यसमा खेल्ने शक्ति र समूह पनि सक्रिय भैरहेको यो अवस्थामा राजनीतिक नेतृत्व सच्चिन कतिपनि बिलम्भ गर्नुहुन्न ।

बुधबारबाट सुरु भएको संघीय संसदको हिउँदे अधिवेशनकै कुरा गरौँ । जुन थलोलाई एक अर्का बिरुद्ध आक्षेप लगाउने र वाकयुद्ध गर्ने ठाउँका रुपमा नेताहरुले प्रयोग गर्न खोज्नु आफैमा सकारात्मक शन्देष होइन् । सरकार देश र जनताको पक्षमा उभिन अनि प्रतिपक्षी दल सरकारबाट भएगरेका कमजोरी सुधार्न केन्द्रित बन्नुपर्ने अवस्थामा एक अर्काबिरुद्धको आलोचना र आक्रोशले हित गर्दैन । अहिले राजनीतिक दलहरु भित्र विचार र सिद्धान्तद्धारा निर्देशित हुन नसकेको गुटगत र व्यक्तिगत स्वार्थमा चल्ने गरेको आरोप लागिरहेको छ । जसलाई गुटैगुटको झुण्ड अनि भेला तथा बेलाबखतका अभिव्यक्तिहरुले आफै पुष्टि गरिरहेका छन् ।

नेताहरुमा विचारको मतभेत भन्दा पनि कार्यशैली, नेतृत्व र अवशरको टकराव तथा लडाई बढी छ । यसले गुटदेखी उपगुटसम्मको स्वरुप पाइरहेको छ । नेतृत्वले नै आफु नेतृत्वमा पुग्नका लागी अधिवेशन तथा निर्वाचनका लागि पार्टी भित्र गुट बनाउछन् । नेतृत्वमा पुगेसकेपछि वा अधिवेशनमा निर्वाचन समाप्त भैसकेकेपछि स्वत अन्त्य हुने भनिएका गुट तथा समुह भंग वा विघटन हुनुपर्नेमा तीनै नेताहरुले आफु शक्तिमा रहन गुट तथा उपगुटलाई निरन्तरता दिदैआएका छन् । विडम्वना यसलाई कार्यकर्ताले पनि गुट उपगुट तथा समुहका सदस्यको रुपमा साथ दिइरहेका छन् । यसरी व्यक्तिगत स्वार्थ समूहका रुपमा निर्माण गरिएका र अभ्यासमा ल्याइएका गुट,उपगुट तथा समुहले पार्टीलाई मात्रै होइन, देश र जनताको अग्रगमनलाई रोकिरहेका छन् । यतातर्फ दल तथा नेतृत्व कहिले जिम्मेवार बन्ने ।

समृद्धी र विकासमा राजा बाधक भए भन्दै राजतन्त्र फलियो । संविधान नै बाधक भनेर नयाँ संविधान पनि लागू गरियो । अनि परिवर्तनको आभाष गराउन नसकेका नेताहरुले अस्थितर राजनीति र सरकारलाई विकास र समृद्धीको वाधक देखाए । अहिले यो बाधा पनि तत्कालका लागि टरेको छ । विकास विकेन्द्रिकृत गर्न संघ, प्रदेश र स्थानीय तहमा सरकार पनि बाँढिएको छ । तर देश र जनताको अवस्था उस्तै दुरुस्तै । तन्त्र फेरिएर केही हुन्न, संविधान फेरिएर पनि थिति बस्दैन् । केवल खाँचो छ त नेतृत्वको इच्छाशक्ति अनि देश र जनताको पक्षमा सोच्नसक्ने सकारात्मक लक्ष्यको । साथसाथै प्रमुख राजनीतिक पार्टीमा झांगिएको स्वार्थ समूह र गुट उपगुटको अन्त्य ।

अहिले दुई तिहाई भन्दा वढीको साथ रहेको नेकपा नेतृत्वको सरकारले जनताको चाहना अनुरुप काम गर्न सकिरहेको छैन । सरकारलाई नेतृत्व गर्ने दलका नेताहरु पार्टी भित्रको गुटगत चाहाना नै पुरा गर्न सकिरहेका छैनन । नेकपा भित्र दृश्य-अदृश्य रुमपा आधा दर्जन नेताले गुट तथा समुहको नेतृत्व गरिरहेका छन् । यहि स्वार्थ समूह समृद्धीको बाधक बनिरहेको छ । नेकपाका पार्टी अध्यक्ष द्धय मात्रै होइन्, नाराणकाजी, बादल, बर्षमान, जनार्दन शर्मा, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता बामदेव गौतम, झलनाथ खनालसम्म गुट चलाइरहेका छन् । सरकारको नेतृत्व गर्ने अध्यक्ष देश मिलाउन भन्दा पनि आफ्नो गुट र पार्टी मिलाउनै ब्यस्त छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र पनि पछिल्लो समय चरम गुटबन्दी मौलाएको छ । प्रमुख प्रतिपक्षको भूमिका निभाउनुपर्ने कांग्रेस गुटबन्दीका कारण आफैभित्र हराइरहेको छ । गत बर्षको निर्वाचनमा ब्यहोरेको पराजयलाई पनि कतिपय राजनीतिक बिश्लेषकहरु गुटगत धोका भनिरहेका छन् । हुन त, गुटबन्दी कांग्रेसको जन्मकालकै रोग हो । नेपाली कांग्रेस, राष्ट्रिय कांग्रेस हुदाकै बखत २००४ सालमा कावा अध्यक्षको बिषयलाई लिएर वीपी कोइराला र डिल्लीरमण रेग्मीबीच दुई समुह वा गुटका रुपमै कांग्रेस उदय भएको थियो । २००९ सालमा वीपी कोइराला र उनकै दाजु मातृकाप्रसाद कोइरालावीचको चरम गुटबन्दीका कारण निवर्तमान पार्टी सभापति तथा बहालवाला प्रधानमन्त्री मातृका प्रसाद कोइराला पार्टीबाट निष्काशन गरिएका तिए र उनले छुट्टै पार्टी गठन गरे । केही समय गुट सेलाएको कांग्रेस २०४६ सालको प्रजातन्त्र पुनस्थापनापछि सत्तामा पुगेसँगै गुटगत समूह फेरी सहतमा आए । एउटा गुटको नेतृत्व पार्टी सभापती कृष्णप्रसाद भट्टराई र अर्का गुटको पार्टी महामन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।

२०४८ सातमा बहुमत ल्याएको कांग्रेसको संसदीय दलमा ३६ से र ७४ रे भनेर दुई समुह तथा गुट सक्रिय थिए । यसैका कारण २०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसद कोइरालाले गराएको मध्यावधि निर्वाचनमा कांग्रेसले नराम्रो पराजय ब्यहोर्यो । २०५२ सालमा कांग्रेसका नेता शेर वहादुर देउवा प्रधानमन्त्री भएपछि एन्टी कोइराला क्याम्प खडा गरे । २०५८ मा नेपाली कांग्रेस दुई चिरामा फुट्न गयो । पार्टी बिभाजन भएको ५ बर्षपछि २०६३ सालमा पार्टी एककिरण भयो । तर पार्टी एकीकरण भएता पनि नेताहरु र कार्यकर्ताहरु भने भावानात्मक रुपमा अझै एक भएका छैनन । बरु अहिले कांग्रेसमा दुई वटा गुट चार भएको छ । कोइराला सहित पौडेल गुट, देउवा गुट, सिटौला गुट, खुमबहादुर गुट सहित धेरै स्वार्थ समूह कांग्रेसमा सक्रिय छन् । जसको झल्को केही समय अघिको केन्द्रिय समिति किचलो र महासमितिको गाइजात्राले आफै देखाएको छ ।

दुईवटा पार्टी मिलेर बनेको संघीय संसदको तेस्रो ठूलो दल संघिय समाजवादी फोरममा पनि अहिले उपेन्द्र यादव र अशोक राईको दुई वटा गुट सक्रिय छन् । अर्को दल राजपा पनि त्यस्तै हालतमा छ त्यहा पनि महन्थ ठाकुर, राजेन्द्र महतो, सरदसिंह भण्डारी, राजकिशोर लगायतका नेताहरुको गुट सक्रिय छ । राजावादी दल राप्रपा पनि गुटउपगुटकै कारण फुट्ने जुट्ने प्रक्रियामा थलिदै आएको छ ।राजनीतिक दलमा विचार नमिल्दा गुट बन्नेगरेको छैन । नेताको महत्वकांक्षा व्यक्तिगत वा सीमित स्वार्थ, शिर्ष नेताहरुको व्यक्तिगत टकरापले गुट उपगुट जन्माएको छ । जुन पार्टीसँगै देशको शान्ति स्थायीत्व र विकासका बाधक बनिरहेका छन् ।

अहिले मैलाउदै गएको गुट उपगुटहरु गिरोहमा परिणत भएभने नेतृत्वकर्ता स्वयमले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । यसर्थ बेलैमा गुटउपगुटलाई समाप्त गर्न जरुरी देखिन्छ । यसका लागि एउटा शिद्धान्तमा आधारित विधान तथा निति कार्यक्रमलाई पूर्ण रुपमा कार्यन्वयन गर्न र नेताहरुबीच ब्यक्तिगत फाईदाको टकराब भन्दा पनी पार्टी र जनातको हित चिताउने संस्कार विकास गर्न आवश्यक छ । अनुशासित भएर काम गर्नेलाई पुरस्कार र पार्टी हित विपरित जानेलाई दण्डित गर्दै लोकतान्त्रिक परिपार्टीबाट नेतृत्व चयन गर्ने हो भनेपनि गुटगत झुण्ड र स्वार्थ अन्त्य हुनेछ । अनी मात्र संमृद्ध नेपाल अनि सम्पन्न र सुखी नेपालीको सपना साकार बन्नेछ । स्वार्थ समूहलाई नै नेतृत्व गर्न नसक्ने नेताबाट देश र जनताको भविश्य कसरी उज्वल होला ? अहिलेका लागि आमजनको यहि प्रश्न ।


क्याटेगोरी : देश / प्रदेश, राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्