Techie IT
Mission Khabar

छोरा मारिएको मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्दै गंगामाया, सरकारले न्याय नदिएको आरोप


काठमाडौं– छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि संघर्षरत गंगामाया अब अन्तर्राष्ट्रिय समर्थन जुटाउन थालेकि छिन् ।

देश भित्र न्याय नपाएको भन्दै उनीले संयुक्त राष्ट्र संघका लागि नेपालस्थित आवासीय नियोगमा पुगेर न्यायको याचना गरेकि छिन् । संयोजक भ्यालेरी जुलियाण्डको भेटबाट आफ्नो छोराको मुद्धाले अन्तर्राष्ट्रिय महत्व पाउने उनको विश्वास छ । हुनत, गंगामायाले सरकारले न्याय नदिए आफू अन्तर्राष्ट्रिय अदालत जाने भन्दै पटक–पटक चेतावनी दिदै आएकी थिइन् । गंगामायाका कानुनी सल्लाहकारले नै संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय नियोगबाट मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्न सुझाब दिएका थिए । तत्कालिन माओवादी सशस्त्र द्धन्दका बेला माओवादी पार्टीका कार्यकर्ताद्धारा हत्या गरिएका कृष्णप्रसादको न्यायका लागि गंगामायाका पति नन्दप्रसाद अधिकारी अनशनमै बस्दा २०७१ असोज ६ गते ज्यान गुमाएका थिए ।

जिल्लामा न्याय माग्दै आएका अधिकारी दम्पतीले २०७० सालबाट काठमाडौंमा अनशन सुरु गरेका थिए । कृष्णप्रसादको हत्याका अभियुक्तमध्येका एक छविलाल पौडेलले यही असार २४ गते अदालतसमक्ष आत्मसमर्पण गरेपछि गंगामायाले लामो अनशन तोडेकी थिइन् । भदौ २५ गते छविलाललाई चितवन जिल्ला अदालतको फैशलाले निर्दोष ठहर गरेपनि उनी रिहा भएका थिए । यसपछि गंगामायाले सरकारबाट न्यायको आस मरेको भन्दै छोराको मुद्धालाई अन्तर्राष्ट्रिय करण गर्ने बताउँदै आएकी थिइन् ।

कृष्णप्रसादको हत्यामा संलग्न प्रमुख अभियुक्त भनिएका रुद्रप्रसाद आचार्य लण्डनमा लुकेर बसेका कारण पनि अन्तर्राष्ट्रिय संघ संस्थाको साथ लिनुपरेको गंगामायाको दाबी छ । २०६१ साल जेठ २४ गते चितवन जाँदै गरेका गोरखा फुजेलका १६ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्