Techie IT
Mission Khabar

प्रदेश मन्त्रीको दादागिरी : आफ्नो एनजिओले कार्यक्रम नपाउदा सचिव कुटिए, छानविन समिति गठन


जनकपुर– प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवमाथि हातपात गरेको बिषयले आइतबार देशभर चर्चा पायो । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए ।

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले आरोप लगाएका छन् । मन्त्री यादवले सचिवमाथि हातपात गर्दा सभामुख सरोज यादव पनि मन्त्रीकै कार्यकक्षमा रहेको बताइएको छ । मन्त्रीबाट कुटाई खाने सचिवलाई प्रहरीले नियन्त्रणमा लिएपछि कर्मचारीहरुले मन्त्रालयको मुख्य ढोकामा धर्ना नै दिए । वन अनुसन्धान तथा तालिम केन्द्रका उपमहानिर्देशक झालाई गत असोजमा प्रदेश २ मन्त्रालयको सचिवका रुपमा खटाइएको थियो ।

प्रदेश २ सरकारले सचिवमाथि कुटपिट गरेको विषयमा छानबिन गर्न समिति बनाएको छ । आइतबारको प्रदेश मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेर समितिको प्रतिवेदनका आधारमा थप कारबाही अघि बढाउने भनेको छ । छानविन समितिमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य छन् ।

मुख्यमन्त्री राउतले कुटपीटको घटनाबारे मन्त्री यादव र सचिव झासँग छुट्टाछुट्टै छलफल गरेर जानकारी लिएका थिए ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्