Techie IT
Mission Khabar

अष्ट्रेलियामा अत्यधिक गर्मी, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सरकारको अपिल


काठमाडौं सिड्नी–अष्ट्रेलियामा गर्मी अत्यधिक बढेसँगै सरकारले अति आवश्यक कामबाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन सूचना जारी गरेको छ । सरकारी अधिकारीहरुका अनुसार गर्मीका कारण ओजोन तह थप पातलिन सक्ने जोखिमले मानव स्वास्थ्यमा गम्भिर असर गर्नसक्छ । यसैले अत्यावश्यक काम बाहेकमा बाहिर ननिस्कन भनिएको हो ।

वातावरणीय स्वास्थ्यका जानकारहरुले निक्कै कम समय मात्र घर बाहिर बिताउन सुझाब दिएका छन्, उनीहरुका अनुसार घरभित्रको तुलनामा बाहिर ओजनको स्तर बढी छ । वरिष्ठ मौसम वैज्ञानिकहरुले भनेका छन्– अहिलेको स्थिति हेर्दा तापक्रम ५० डिग्री भन्दा माथी पुग्छ । पछिल्लो २४ घण्टामा विश्वका अत्यधिक गर्मी हुने स्थानहरुको सूचीमा अष्ट्रेलियाका मात्रै १५ स्थान परेका छन् । गर्मी र प्रदूषणका कारण बिरामी परेका मानिसहरुको उपचार गर्न सहज होस् भनेर सन् २०११ को तुलनामा यस वर्ष अस्पतालहरुमा १४ प्रतिशतले आकस्मिक कक्षहरु थप गरिएको छ । तर यो समयमा बिरामीको चाप निक्कै बढेको बताइएको छ । ओजोनको प्रभावले औषधि लिइरहेका स्वासप्रश्वासका पुराना बिरामीहरु बढी जोखिममा परेका छन् । चिकित्सकका अनुसार उनीहरुको फोक्सोमा छिटो असर पर्छ । अन्य दिनको तुलनामा न्यूसाउथ वेल्सको गर्मी झनै अत्यधिक बढेको छ । न्यूसाउथ वेल्समा अधिकतम तापक्रम ४९ डिग्री हाराहारी पुग्न लागेको छ ।

शुक्रबारसम्म सिड्नीको शहरी क्षेत्रको तापक्रम नै ३४ डिग्री पुग्ने पूर्वानुमान गरिएको छ । पश्चिम सिड्नीमा भने ४५ डिग्री माथी तापक्रमको आँकलन छ । दक्षिण अष्ट्रेलियाको तारकोला आइल्याण्डमा सबैभन्दा बढी ४९.१ डिग्री तापक्रम मापन भएको छ । तापमान केही दिन अझ बढ्ने पूर्वानुमान गरिएका कारण सावधानी अपनाउन सरकारी अधिकारीहरुले पटक–पटक नागरिकस्तरमा अपिल गरिरहेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्