Techie IT
Mission Khabar

पहिलो मानवशास्त्री विष्टको अवस्था २३ वर्षदेखी अज्ञात, सरकारको खोजले पनि सार्थकता पाएन


काठमाडौँ– नेपालको पहिलो मानवशास्त्री प्राध्यापक डोरबहादुर विष्ट हराएको २३ बर्ष पुग्दा पनि अझै भेटिएका छैनन् । ललितपुरको झरुवारासीमा १९८२ माघ ४ गते जन्मिएका विष्ट २०५२ पुस २७ मा अध्ययनका क्रममा जुम्लाबाट हराएका थिए ।

उनका छोरा पूर्वमन्त्री केशरबहादुर विष्ट परिवार, देश, सरकार सबैले खोज्दा पनि फेला नपरेको भन्दै दुखेसो पोखिरहेका छन् । त्रिभुवन विश्वविद्यालयका अनुसार नेपालको मानव शास्त्र अध्ययन गर्नेहरूमा प्राध्यापक विष्ट नै पहिलो नेपाली हुन् । बेलायती मानवशास्त्री क्रिस्टोफर हाइमेन्डफर्सको सहयोगी भएर नेपालका विभिन्न जातजातिबारे संयुक्त अध्ययन गर्ने क्रममा बिष्टले अंग्रेजी भाषामा लेखेको ‘पिपुल अफ नेपाल’ पुस्तक निकै चर्चित छ, तर उनी अहिलेसम्म गुमनाम । विष्टले २०३० को दशकमा लेखेको ‘सबै जातको फूलबारी’ नामक अर्को कृतिमा नेपालका प्रायः सबै जातजाति र आदिवासी समुदायको चित्रण गरिएको छ । नेपाली समाज, संस्कृति, आधुनिक विकासबारे प्राध्यापक विष्टले एउटा नयाँ खाले सैद्धान्तिक अवधारणा प्रस्तुत गरेपनि उनी आफै बेपत्ता भैदिदा नयाँ खोज र सोच ओझेलमा परेको छ ।

कर्णाली इन्स्टिच्युट खोलेर जुम्लाको चौबीसे क्षेत्रमा अध्ययन गर्ने क्रममा हराएका बिष्ट यति लामो समयसम्म बेखबर रहनु र राज्यले गरेका खोजविनका सबै प्रयास सार्थक नहुनुले हाम्रो कमजोर राज्य संयन्त्रलाई एक पटक फेरि सतहमा ल्याइदिएको छ । शक्ति र पँहुचवालाहरु त यसरी गुमनाम बन्छन, बनाइन्छन भने सामान्य नागरिकको मानवअधिकार कस्तो होला ? एक पटक मनन गर्नैपर्ने बेला आएको छ ।


क्याटेगोरी : ओझेलका पात्र, जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्