Techie IT
Mission Khabar

संसदमा प्रश्नोत्तर : वाइडवडी लगायतका राष्ट्रिय चासोका बिषयमा मौनता, कसले के बोले ?


काठमाडौं–प्रधानमन्त्री तथा मन्त्रीसँगको प्रश्नोत्तरलाई प्रतिष्ठा बनाएको कांग्रेसले शुक्रवारको जवालजवाफमा अनशनरत डा.गोविन्द केसी, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा सञ्चालन हुने भनिएका अस्पताल बाहेकका कुनैपनि खास मुद्दालाई प्रश्न सोध्नुपर्ने आवश्यकता ठानेन ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन भन्दै सडक तताएको कांग्रेसले संसद्मा यसको सवालजवाफ गरेन । बरु ३३ केजी सुन तस्करी काण्ड, वाइडबडी अनियमितता लगायतका बिषयमा यसअघि चर्को आलोचना गरेको कांग्रेसले मौनता साध्यो । राष्ट्रिय रूपमा बहस सिर्जना गरिरहेका कतिपय मुद्दामा प्रधानमन्त्रीलाई कुनै प्रश्न गर्न नसक्ने कांग्रेसले प्रश्नोत्तरलाई आफ्नो प्रतिष्ठा बनाउनु लज्जाबोध भएको कतिपयको बुझाई छ ।

प्रश्नोत्तर र जवाफ यस्तो थियो……..

प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै कांग्रेस सांसद गगन थापाले डाक्टर केसीको चिकित्सा क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्नुपर्ने मागलाई सम्बोधन गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले सार्वभौम संसदलाई आफूले आदेश दिन नसक्ने भन्दै संसदको निर्णय आफूले मान्नुपर्ने बताए । सार्वजनिक लेखासमितिले गठन गरेको वाइडबडी छानबिन उपसमितिका सदस्य तथा संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले पनि वाइडबडीको बारे मुख खोलेनन्, उनले संविधान कहिले संशोधन हुन्छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीको जवाफ थियो– संविधान संशोधन कुनै फेसन होइन ।

कांग्रेस सांसद दिलेन्द्र बडूले स्विस बैंकमा नेपालीहरूले अवैधानिक रूपमा ५२ अर्ब जम्मा गरेको विषयलाई सरकारले कसरी लिएको छ भन्दै प्रश्न सोधे । प्रधानमन्त्री ओलीले त्यसलाई छानबिन गर्ने भन्ने सामान्य र रेडिमेड उत्तर दिए । अन्य कांग्रेस सांसदले यसबारे पनि कुनै गहन प्रश्न उठाएनन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले नेपालमा कालोधनको चलखेल देखिएको र त्यसलाई सरकारले कसरी कारवाहीको दायरामा ल्याउला भन्दै प्रश्न सोधेका थिए । प्रधानमन्त्रीले सरकार सुशासन र विकासका निम्ति भ्रष्टाचार उन्मुलन, पारदर्शिता र अनियमितताको रोकथाम गर्न प्रतिबद्ध छ भन्ने जवाफ फर्काए । सत्यतथ्य छानबिनपछि मात्र पत्ता लाग्ने भन्दै खोजपत्रकारिता नामक संस्थाले दिएको सबै तथ्यांक सही नभएको प्रधानमन्त्रीको आशय थियो ।

कांग्रेस सांसद मिनेन्द्र रिजालले नेताद्वय गिरिजाप्रसाद कोइराला र शुशील कोइरालाको नाममा खोल्न लागिएका दुई अस्पतालहरू सरकारले विघटन गर्न लागेको भन्दै आपत्ति जनाए । जवाफमा प्रधानमन्त्री ओलीले आफूहरू ती अस्पताल विघटन गर्न नलागेको भन्दै अस्पतालले दिने सेवा सुविधामा बढोत्तरी गर्नका लागि कांग्रेसका नेताहरूसँग छलफल चलिरहेको जानकारी दिए ।
नेकपाकै अर्का सांसद प्रभु शाहले प्राकृतिक विपत्तिबाट प्रभावित भएकाहरूलाई सरकारले तत्काल राहत योजना ल्याउनुपर्ने विषयमा जोड दिए ।
नेपाली कांग्रेसका अर्का सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्रीको स्विजरल्याण्ड भ्रमणमा कालोधनको विषय उठ्छ कि नाईं भनेर सोधेका थिए । प्रधानमन्त्रीले हामी छानबिन गर्छौं भन्ने जवाफ मात्रै फर्काए । नेकपाकी सांसद रेखा शर्माले प्रधानमन्त्री ओलीलाई सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिन आयोगको भविष्य के हुँदैछ भनेर सोधिन् । माघ २६ गते दुवै आयोगको म्याद समाप्त हुने र त्यसपछिका कानूनी व्यवस्था के हुने भन्ने आशयको प्रश्नमा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा भूमिका खेलेका राजनीतिक दलहरूसँग यस छलफल भइरहेको भन्दै आयोगहरूलाई अन्य कुनै कानूनी व्यवस्थाले प्रतिस्थापन गर्ने तयारी भएको बताए ।

कांग्रेसका सांसद अतर कमाल मुसलमानले ५० अर्ब भन्दा बढी लगानीका आयोजनामा प्रधानमन्त्री कार्यालयले तोक आदेश जारी गर्ने प्रावधान ठीक नभएको भन्दै प्रधानमन्त्रीको धारणा मागे । लोकतान्त्रिक देशमा त्यस्तो व्यवस्था हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले त्यस्तो कुनै प्रावधान नरहेको जवाफ दिए ।  समग्रमा कांग्रेसको प्रतिष्ठाको विषय बनेको प्रश्नोत्तरमा राष्ट्रिय मुद्दा नै उठेनन् ।

नेकपाका सांसदहरू शान्ति प्रक्रियाका विषय, स्विजरल्याण्डमा जम्मा भएको कालोधन र प्रधानमन्त्रीको आसन्न स्विजरल्याण्ड भ्रमणमा केन्द्रित बन्दा सरकारबिरुद्ध आक्रामक मिडियावाजी गर्ने प्रमुख प्रतिपक्षी दल वाइडवडी, निर्मला प्रकरण, साँढे ३३ किलो सुनकाण्ड लगायतमा राष्ट्रिय सरोकारका बिषयमा मौन बस्नुले कांग्रेसको चरित्रलाई नै उदांगो पारेको छ । बरु सधैँ झैँ प्रधानमन्त्री ओलीले शुक्रवारको बैठकलाई पनि रेल र पानीजहाज आउने सपना सुनाउने फोरमका रूपमा सदुपयोग गरेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, राजनीति, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्