Techie IT
Mission Khabar

चरिकोट अस्पतालको मनपरि, पोष्टमार्टमपछी दाहसंस्कार गर्न लगिएको शबमा मृत बच्चा भेटियो


सुरज बस्नेत । दोलखा– प्रस्तावित चरिकोट अस्पतालको गम्भिर लापरबाही बाहिर आएको छ । अस्पतालले चरम लापरबाहि गर्दा पोस्टमार्टम गरेर लगिएको ठुलो मानिसको शबमा एउटा मृत बच्चा भेटिएको हो ।

भीरबाट लडेर शनिवार मृत्यु भएका भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका ४४ बर्षिय कालुमान थामीको शब मोर्टमार्टम गरेर सद्गत् गर्न कपडाहरु पन्छाउने क्रममा रगतले लतपत भएको एउटा प्लाष्टिकको झोला भेटिएको थियो । पछि झोला खोलेर हेर्दा एक मृत नवजात छोरा भेटिएपछि घाटमा पुगेको सबै चकित भए । यसरी बच्चाको शक भेटिनुले कुनै पनि महिलाको अबैध गर्भपतन गराएर वा कुनै पनि कारणले बच्चाको मृत्यु भएपछि शब लुकाउन खोजिएको रहश्य बाहिरिएको छ । मलामी गएका भीमेश्वर नगरपालिका–१ का वडाध्यक्ष विरबहादुर थामीले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि अहिले बच्चाको शब अस्पतालमै फिर्ता गरिएको छ ।

प्रस्तावित चरिकोट अस्पतालमाथी विभिन्न समयमा ठूलो पैसाको बार्गेनिङ गरेर अबैध गर्भपतन गराउने गरेको आरोप पनि लाग्दै आएको छ । अझ, पोष्टमार्टम गरेर राखिएको शबमा नवजात शिशु भेटिनुले यो आशंकालाई थप बलियो बनाएको छ । हुनत, चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा. क्षमता घिमिर आफैले पोष्टमार्टम गरेको बताउँछिन् । पोष्टमार्टम सकेर शब सिलाएपछि कार्यालय सहायकले बाँकी काम गर्ने विश्वाससहित बाहिर गएको बताउने डा. क्षमता पछिको घटना थाहा नभएको बताउँछिन् । घटना कसरी भयो भन्नेबारे अस्पताल प्रशासनले केही बोलेको छैन् । माघ ४ गते शुक्रबार प्रस्तावित चरिकोट अस्पतालमा बैत्यश्वर गाउँपालिकाबाट आएकी एक गर्भवतीबाट मृत अवस्थामा ४ केजी तौल भएको बच्चा जन्मेको बताउने अस्पतालका मेडिकल डाइरेक्टर डिस्पोज गर्ने क्रममा रहेको बच्चाको शब पनि थामी परिवारले भुलबस लगेको बताउँछन् ।

परिवारलाई लाश बुझाउने कानुनी प्रक्रियाको खिल्ली उडाउँदै यस्तो अभिव्यक्ति दिने कर्मचारी र अस्पतालमाथी छानविन हुनुपर्छ । परिवारले बच्चाको लाश नलगे पछि के कारणले जन्मनु अघि नै मृत्यु हुन्छ भन्ने विषयमा अध्ययनको लागि बच्चाको पनि पोष्टमार्टम गरिएको अस्पतालले जनाएको छ । यो भुलबस वा नियतबस घटेको घटना हो, रहश्य विस्तारै बाहिर आउँला । तर अस्पतालको पोष्टमार्टम गृहमा हुने हदैसम्मको लापरबाहिको यो एउटा ज्वलन्त घटना भने पक्कै हो । यथासक्य छिटो छानविन होस् अनि सत्यतथ्य उजागरहोस्, स्थानीय यहि अपेक्षा गरिरहेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्