Techie IT
Mission Khabar

भेनेजुएला प्रकरणको राजनीतिक र कुटनीतिक बहश, उक्साहट कि स्वतन्त्र अभिव्यक्ति ?


काठमाडौं – भेनेजुएलाको राजनीतिक संकट र अमेरिकी कुटनीतिको प्रभाव नेपालमा झन–झन गहिरिन थालेको छ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्यबाट सुरु भएको भेनेजुएला बहस अहिले राजनीति र कुटनीतिक दुबै तहमा गहिरिएको छ ।

भेनेजुएला प्रकरणले नेपालको राजनीतिलाई दुई धारमा बिभाजन गरेको मात्रै छैन, अ‍ेरिकासँगको सम्बन्धमा खटपट पैदा भएको छ । अमेरिकाले यो प्रकरणमा सरकारी धारणा माग्नु यसैको उपज हो । अझ प्रमुख प्रतिपक्षी दल कांग्रेसले भेनेजुएलामा अमेरिकाले चालेको कदमलाई समर्थन गर्दै सरकारका कुनै पनि कदमको बिरोध गर्नुपर्छ भन्ने मान्यतालाई कायमै राख्दा सत्तारुढ पार्टी नेतृत्वको दुई धार सतहमा आएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि भनेको नेकपाका दुई अध्यक्षले भेनेजुएला प्रकरणमा दिएका अभिव्यक्तिले सरकारसँगै नेकपाको दुई धारलाई प्रष्ट पारेको छ ।

अमेरिकासँगको सम्बन्धमा चिसोपन आउने देखिएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीले शब्द चिप्लिएको भन्दै व्यक्तिगत धारणा पार्टी र राष्ट्रको धारणा हुन नसक्ने बताएका छन् । यता, अर्का अध्यक्ष दाहाल आफ्नो वक्तव्यको बचाउ गर्दै कुनै मुलुकले सार्वभौम राष्ट्रलाई हस्तक्षेप नगरोस् भनेर राजनीतिक वक्तव्य जारी गरिएको दाबी गरिरहेका छन् । यसभित्र कुटनीतिक मक्सद लुकेको हुनसक्छ । तर यसरी आएको फरक–फरक अभिव्यक्तिले नेकपा भित्रको एकता प्रक्रिया र सत्ताको यात्रामा भने प्रत्यक्ष वा अप्रत्यक्ष असर पार्ने देखिन्छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, राजनीति, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्