Techie IT
Mission Khabar

सधै, सबै ठाउँमा जित्ने रविन्द्रको अत्पायुमै अस्ताएको जीवनलिला


काठमाडौं– मृत्यु जे जस्तो भएपनि स्विकार्नुपर्ने बाध्यता रहन्छ । चाहे बयोबृद्ध अवस्था होस्, चाहे असामयिक र अकल्पनीय नै किन नहोस् । हो, अब हामीमाझ पर्यटनमन्त्री तथा जुझारु युवा नेता रविन्द्र अधिकारीको सम्झना मात्रै बाँकी छ ।

२०२६ साल वैशाख २२ गते कास्कीमा जन्मिएका अधिकारी विद्यार्थी कालदेखि नै जोशिला, क्रान्तिकारी स्वभावका थिए । देशले आशा र भरोसा गरेको एउटा नेताको अवसानले पार्टी मात्रै होइन्, राष्ट्र नै शोकमा परेको छ । देशभक्त, विकासप्रेमी युवा नेताको यो अकल्पनीय निधनको शोकलाई शक्तिमा बदलेर अब राज्य उनको सपना साकार पार्ने दिशामा अघि बढ्नुपर्छ । ०५६ सालतिर सार्वजनिक यातायातमा विद्यार्थीलाई सहुलियतको माग गर्दै देशभर आन्दोलन चर्किदा मुख्य अगुवा थिए, रविन्द्र अधिकारी । आन्दोलनले चर्को रुप लिएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले विद्यार्थीसँग सहमति गरेर सार्वजनिक क्षेत्रमा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिने निर्णय गरेको थियो । यो आन्दोलनको सफलताले अधिकारी चर्चासँगै समग्र विद्यार्थी आन्दोलनको रोलमोडल बने ।
विद्यार्थी आन्दोलनलाई रचनात्मक बनाउन अगुवाइ गर्दा रविन्द्रले धेरै पटक जेलनेल भोगे ।

०४९ सालमा पृथ्वीनारायण क्याम्पस स्ववियुको नेतृत्वमा हुँदा भवन निर्माण, क्याम्पस गेट, बाटो निर्माण, पुस्तकालय, शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको पोशाकका विषयमा अमूल परिवर्तन ल्याए । स्कुले जीवनबाट राजनीतिमा होमिएका उनी ०४६ को जनआन्दोलनमा अझ क्रियाशील बने । ०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भएका अधिकारी ०५६ मा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष र ०५३ मा स्ववियु काउन्सिल नेपालका निर्वाचित संयोजक बने । गायक प्रवीण गुरुङ हत्याकाण्डमा दरबारमाथी धाबा बोल्ने नेता अधिकारीले तत्कालीन शाहज्यादा पारसको उपाधि खोस्ने आन्दोलनसँगै ‘हत्यारालाई दरबार होइन जेल’ हुनुपर्ने भन्दै देशभरबाट ५ लाख २३ हजार हस्ताक्षर संकलन गरेर दरबारमा बुझाए ।

भारतले नाकाबन्दी लगाएका बेला केरुङ नाका खुलाउन सीमानामा पुग्ने अधिकारी कोराला नाका र किमाथांका नाका पनि पुग्थे । सुस्ता र कालापानी पुगेर थिचोमिचो बिरुद्ध आक्रोश पोख्ने उनै नेता अहिले हामी माझबाट सदाका लागि बिदा भएका छन् । सीमानामा भारतीय थिचोमिचोविरुद्ध सीमा सुरक्षा अभियानमा लाखौं युवा विद्यार्थीलाई आफ्नो नेतृत्वमा गोलवद्ध गरेका अधिकारीले कालापानीमा चन्द्रसूर्य फहराउने अभियानको पनि नेतृत्व गरेका थिए । विद्यार्थी अभियानले नै रविन्द्रलाई नेपालको विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा स्थापित गरायो । तर राष्ट्रिय राजनीतिमा आफ्नो क्षमता देखाउँदै गर्दा रविन्द्र पर्यटन क्षेत्रमा आमूल परिवर्तनको परिणाम नआउँदै अस्ताउन पुगे । नेपाली राजनीतिमा नयाँ पुस्ताबाट आशा गर्न सकिने र गरिएका सिमित नेताहरुको पंक्तिमा रविन्द्र अधिकारी अग्र स्थानमा थिए । रविन्द्र अधिकारी कहिल्यै हारेनन् । कुनै पनि प्रतिस्पर्धामा उनी पराजित भएनन् ।

देशकै ठूलो पृथ्वीनारायण क्याम्पस पोखराबाट विद्यार्थी राजनीतिमा उदाएका रविन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुँदै ०४९ सालमा सभापति निर्वाचित भएका थिए । उनी त्यही बेला शंकर पोखरेल नेतृत्वको अनेरास्ववियु केन्द्रीय कमिटीमा पुगे । योगेश भट्टराई नेतृत्वको अनेरास्ववियुमा पनि रविन्द्र कोषाध्यक्ष निर्वाचित भए । २०५३ सालमा अनेरास्ववियुभित्रको विवादका कारण योगेश भट्टराई , भानुभक्त ढकाल, हिक्मत कार्की र रविन्द्रलाई पार्टीले अखिलबाट बिदा गर्यो तर, रविन्द्र सोही वर्षको स्ववियु चुनावमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको सभापतिमा निर्वाचित भए । स्वतन्त्र विद्यार्थी युनियन काउन्सिलको संयोजक र विश्वविद्यालयको सिनेट सदस्य बनेपछि रविन्द्र पुनः विद्यार्थी राजनीतिमा फर्किए । ०५४ सालमा भएको एमाले बिभाजनपछि रविन्द्र तत्कालिन मालेतर्फ लागे र ०५६ सालमा अनेरास्ववियुको अध्यक्ष भए ।

अनेरास्ववियुको अध्यक्ष हुँदा रविन्द्रले गरेका जनपक्षीय र विद्यार्थी पक्षीय अभियान युग युगसम्मका लागि ताजा रहनेछन् । एमाले एकीकरणपछि रविन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिए । तत्कालिन एमालेको दुई कार्यकाल कास्की जिल्ला प्रमुख भएका अधिकारी २०६४ सालमा देशभर एमाले पराजित भइरहँदा पार्टीको शाख राख्न सफल भए । संविधानसभामा उनको प्रस्तुतिले रविन्द्रलाई विद्यार्थी नेताबाट एकाएक आशालाग्दो युवा नेतामा स्थापित गर्यो । विद्यार्थी राजनीतिमा सधैं विजयी उनी राष्ट्रिय राजनीतिमा पनि पटक पटक बिजयी भए । ०६४, ०७० र ०७४ का तीनवटै निर्वाचनमा कास्कीका जनताले रविन्द्रलाई ठूलो भरोसाका साथ बिजयी गराए । संसदको विकास समितिको सभापति हुँदा उनले मुलुक सम्बृद्धिको खाका सहित पुस्तक नै प्रकाशित गरे ।

संसदीय भूमिकामा एक नम्बर बनेपनि अधिकारी पार्टी राजनीतिमा भने ५ वर्ष पछि परे । ०६५ सालको एमालेको आठौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यका उम्मेदवार नबनेर एक स्टेप ब्याक भएको बताउने गर्थे । ०७१ सालको नवौं महाधिवेशनमा सबैभन्दा लोकप्रिय मतका साथ उनी केन्द्रीय सदस्य निर्वाचित भए । संसदीय भूमिकामा अब्बल देखिएका अधिकारीलाई तेस्रो पटक निर्वाचित भएपछि भने प्रधानमन्त्री केपी शर्मा ओलीले भरोसा गरेर पर्यटनमन्त्री बनाएका थिए । मन्त्री बने लगत्तै व्यवस्थित कार्ययोजना र आक्रमक कामकारवाहीसहित उनी कर्मक्षेत्रमा खटिएका थिए । उनले गरेको कामको प्रतिफल केही देखिएपनि केही आउने क्रममा थियो । असम्भव बनिसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अधिकारीकै प्रयासमा आश्चर्यजनक रुपमा अघि बढेर आगामी भदौमा सन्चालनमै आउने अवस्थामा पुगेको छ ।

आशा गरौँ, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडो निर्माण गरेर अन्तर्राष्ट्रिय ट्रान्जिट हब बनाउने, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सम्पन्न गरेर पर्यटक आगमनको ढोका खोल्ने उनको सपना सरकारले अधुरो छाड्ने छैन । प्रधानमन्त्री ओलीले सार्वजनिक भाषणदेखि पार्टी बैठकहरुमा समेत रविन्द्रको खुलेरै प्रशंसा गर्ने गरेका कारण उनको सपना साकार पार्नु नै अधिकारी प्रतिको सच्चा स्मरण र श्रद्धाञ्जली हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घण्टा सन्चालनदेखि विमानस्थल सुधारमा उनी आफैं खटिए । धेरै नयाँ विमानस्थल खोज्ने क्रममा तेह्रथुम पुगेका अधिकारी कहिल्यै नफर्किने गरी विदा भएका छन् । अलविदा रविन्द्र अधिकारी !


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्