Techie IT
Mission Khabar

शव पहिचानमा समय लाग्ने भएपछि सारियो श्रद्धाञ्जली सभा, पोष्टमार्टम र पहिचान गरिदै


काठमाडौं– बुधबारको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको मोष्टमार्टम र शव पहिचानका लागि समय लाग्ने भएपछि काठमाडौंको टुडिखेलमा गर्ने भनिएको शोक सभा शुक्रबार विहान ८ बजेका लागि सारिएको छ ।

सरकारले राष्ट्रिय शोक घोषणा गरेर टुडिखेलमा बिहिबार शोक सभा गर्ने भनेको दिन काठमाडौंको वातावरण पनि निक्कै उदास,उराड बनेको छ । हेलिकोप्टर दुर्घटनामा मृत्युवरण गरेका मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव मौसमी प्रतिकुलतासँग पैठेजोरी खेल्दै नेपाली सेनाको एमआई–१७ बिहिबार काठमाडौं ल्याइएको थियो । बर्षा र हिमपातको प्रतिकुलता झेलेर नेपाली सेना र प्रहरी शव निकाल्न अनि काठमाडौं ल्याउन सफल पनि भए । तर मन्त्री अधिकारी र उनका सुरक्षा गार्ड अर्जुन घिमिरे बाहेकको शव पूर्ण रुपमा जलेका कारण पहिचान गर्न कठिनाई भएको छ ।

त्रिवि शिक्षण अस्पतालका अनुसार पोष्टमार्टम र पहिचानका लागि छिटोमा पनि १० घण्टा समय लाग्ने बुझिएको छ । पहिचानमा ढिलाई भएका कारण नै श्रद्धाञ्जली सभा शुक्रबारका लागि सारिएको हो । टुडिखेलमा मृतक ७ जनाको सामूहिक शव राखेर श्रद्धाञ्जली अर्पण गरिने, मन्त्री अधिकारीलाई पार्टी तथा राष्ट्रिय झण्डा ओडाएर सम्मान अर्पण गरेपछि गृह जिल्ला पोखरामा लगेर भोली नै दाहसंस्कार गर्ने बताइएको छ । दुर्घटनामा अधिकांशको शरीर जलेको अवस्थामा रहेकाले कतिपय शवहरु आफन्तबाट पहिचान गराउन खोजिएपनि सम्भव नदेखिएपछि थप परिक्षण भैरहेको छ । देशले यतिखेर बहालवाला जुझारु अनि जोशिला मन्त्रीलाई गुमाएको छ । मन्त्री अधिकारीसँगै उदीयमान पर्यटन व्यवसायी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु, इञ्जिनियर, पाइलट एवं सुरक्षाकर्मीसमेत हेलिकोप्टर दुर्घटनाको शिकार भएका छन् ।

शव काठमाडौं ल्याइएसँगै मृतका आफन्त, शुभेच्छुक, शुभचिन्तक नेकपाका नेता कार्यकर्ताको उपस्थिति भएको स्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, त्रिवि शिक्षण अस्पताल र टुँडिखेल शोकमग्न देखिएको थियो । यहाँ उपस्थित अधिकांशको अनुहार मलिन देखिन्थ्यो भने । हरेकको आखा रसाइरहेको देख्न सकिन्थ्यो । श्रद्धान्जलीका लागि भोली विहान टुडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु र उच्चपदस्थ सरकारी अधिकारीहरु उपस्थित हुने बताइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्