Techie IT
Mission Khabar

टिकापुर घटना : रेशमलाल चौधरी सहित १२ जना बिरुद्ध जन्मकैद, तीन जना निर्दोष तीन बर्षे कैद भुक्तान गरेर १५ जना रिहा


धनगढी–टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित १२ जना बिरुद्ध जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीले रेशमलाई २२ वर्ष जेल सजायको फैसला सुनाएको हो ।

रेशमसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन कठरिया, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदीप चौधरी, सिराताम चौधरी, गंगाराम चौधरी र एक नाबालक श्रवण चौधरी रहेका छन् । नाबालक श्रवणलाई सुधारगृहमा राख्न आदेश भएको छ । यता, नेता लक्ष्मण थारुसहित १५ जना भने जेलबाट छुटेका छन् । तीन वर्षको कैद सुनाइएका १२ जना कैद भुक्तान भएकाले र तीन जना निर्दोष ठहर भएर जेलबाट छुटेका छन् । नेता थारु सहित लाहुराम चौधरी, रामकुमार कठरिया, शन्तराम चौधरी, जोनबहादुर डंगौरा, प्रेमबहादुर चौधरी, दिलबहादुर चौधरी, किरण लाल चौधरी, संगम भनिने सन्तोष थारु, विसारु चौधरी, चुन्नीराम चौधरी, रामप्रसाद चौधरी तीन बर्षे कैद भुक्तान गरेर छुटेका छन् । यता, पूर्पक्षका लागि थुनामा राखिएका नुरुल जागा तहौकर, रामनरेश चौधरी र किसराम चौधरी निर्दोष करार भएका छन् ।

२०७२ साल भदौ ७ गते टीकापुरका सरकारी कार्यालयमा थरुहट थारुवान प्रदेशको वोर्ड झुण्ड्याउने योजना सहित सुरु भएको थारु आन्दोलनका क्रममा तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपाने सहित आठ सुरक्षाकर्मी र एक नाबालकको निर्मम हत्या भएको थियो । घटना लगत्तै फरार रहेका रेशमलाल चौधरी फरार रहेकै अवस्थामा टीकापुरबाटै प्रतिनिधिसभामा २० हजार ९ सय ३५ मतको फराकिलो अन्तरले विजयी भए । चुनाव जितेको केही समयपछि कैलाली जिल्ला अदालतमा आत्मसमपर्ण गरेका रेशमले केही साताअघि मात्रै सभामुख कृष्णबहादुर महराबाट प्रतिनिधिसभा सदस्यको शपथ पनि लिए । घटनाको मुख्य योजनाकारको आरोप सहित पुर्पक्षका लागि थुनामा रहेका चौधरी अन्ततः जिल्ला अदालतबाट दोषी करर भएका छन् ।

टीकापुर हत्याकाण्डको अभियोगमा प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी अन्तर्गत मुद्दा दायर भएकोमा (बुधबार) फैसला भएको हो । फैशला चित्त नबुझेमा पुनरावेदनका लागि उच्च अदालत र सर्बोच्चमा जाने बाटो भने खुल्ला छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्