Techie IT
Mission Khabar

सोलुखुम्बुमा विप्लब समूहको त्रास, हवाई गस्ती सहित ४० सशस्त्र प्रहरी परिचालन


सोलुखुम्बु\काठमाडौं– सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सक्रियता बढेसँगै सोलुखुम्बुको सुरक्षामा बिशेष सतर्कता बढाइएको छ । महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकीमा आइतवार राति विप्लव समूहले आक्रमण प्रयास गरेपछि सुरक्षा सतर्कता बढाइएको हो । अहिले यो क्षेत्रमा ४० जना सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

प्रभावित क्षेत्रमा काठमाडौंबाट सशस्त्र प्रहरी नायव निरीक्षकसहित ११ जना, विराटनगरबाट सशस्त्र प्रहरी निरीक्षकसहित १६ जना र सोलुखम्बुबाट सशस्त्र प्रहरी सहायक निरीक्षकसहित १३ जनालाई परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा नेपाल प्रहरीको टोली समेत खटाइएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले गाउँपालिकामा सुरक्षा सक्रियता बढाइएको जानकारी दिए । छेस्काममा असईको नेतृत्वमा १२–१५ जना रहेको प्रहरी चौकी छ । गाउँपालिका अध्यक्ष सागर किरातीले पनि विप्लवका गतिविधिसँगै सुरक्षा सक्रियता बढाइएको स्विकार गरे ।

यता, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले भने छेस्काममा प्रहरी चौकीमाथी आक्रमण प्रयास नभएको भन्दै घटना बारे थप बोल्न चाहेका छैनन् । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्रकुमार रानाले पनि केही दिनदेखि स्थानीय स्तरमा विप्लव समूहका गतिविधि बढिरहेका कारण सुरक्षा निगरानी सहितको सतर्कता बढाउनुपरेको जानकारी दिए ।


क्याटेगोरी : देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्