Techie IT
Mission Khabar

फेवा तालमा होटल र स्थानीयको ढल, खोला, नहर, ढलको पानी शुद्धीकरण गर्नुपर्ने सर्बोच्चको आदेश कार्यान्वयन भएन्


पोखरा । नागरिक समाजको अगुवाइमा दुई वर्षअघि सुरु भएको फिर्के बुलौंदी बृहत् सफाइ अभियान १८ हप्तापछि पोखरा बृहत् सफाइ अभियानमा परिणत भएर १ सय ५८ हप्ता पूरा गरिसकेको छ । तर यो अभियान होटलको ढल तालमा हाल्नेहरुमाथी महानगरले कारबाही गर्न नसक्दा प्रभावहिन बनेको छ ।

मालेपाटनबाट सिँचाइ कुलो लेकसाइड हुँदै फेवामा मिसिन्छ । आकासे पानी मात्रै बगाउन निर्मित नाला फेवातालमै सोझिएको छ । लेकसाइडका होटलले पानी परेको मौका छोप्दै सिँचाइ कुलो र नालामा मिसाएको बारे यस क्षेत्रका अधिकांश जानकार छन् । तर तालको अस्तित्वमा गरिएको आक्रमण रोक्न स्थानीय, महानगर र सरोकारवालाले सकिरहेका छैनन् ।आकासे पानी मात्र बगाउन बनाइएको नालामा घरघरका बाथरुम मात्र नभई शौचालयको फोहोरसमेत पठाउँदा फेवा ताल प्रदूषणको चपेटामा परेको छ । फोहोर पानी ढलमा मिसाइँदा ताल किनारमा बस्नै नसक्ने गरी दुर्गन्ध फैलिएको छ । ताल किनारमा ढलको पानी फिल्टर गर्न बनाइएको पोखरी पनि दुर्गन्धित छ । फिल्टर गर्न बनाइएको पोखरीमा ट्रिटमेन्ट प्लान्ट नहुँदा फोहोर सोझै तालमा मिसिएको र यस्तो कार्यमा ३५ होटल, रेस्टुरेन्ट र स्थानीयको नाम र ठेगाना महानगरलाई बुझाइएपनि कारबाही भएको छैन । कारबाही गर्न महानगरले नै चासो नदेखाएको स्थानीय बताउँछन् ।

यता, महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण भट्टराई व्यवस्थित ढल विकास नहुँदासम्म दीर्घकालीन रूपमा फेवाको प्रदूषण रोक्न नसकिने बताइरहेका छन् । वडा नम्बर ६ का अध्यक्ष जगतबहादुर पहारी पनि लेकसाइडका होटलले लुकीछिपी ढल तालमा मिसाएको स्विकार गरिरहेका छन् । तर स्थानीय सरकारले तालमा ढल र फोहोर मिसाउनेलाई सधै उन्मुक्ति दिदैआएको छ, किन ? महानगरले बृहत् ढल विकास योजना प्रस्ताव तयार पारेपनि अघि बढ्न सकिरहेको छैन । पौडी स्पर्धाका लागि गुणस्तर थाहा पाउन पानी परीक्षण गर्दा मलमूत्र अधिक रहेको पाइएपछि तालमा ढल मिसाउने गरेको रहश्य बाहिरिएको थियो । फेवातालको पानीमा कोलिफर्म र इकोलीको मात्रा अत्यधिक भएकाले मानिस र गाईबस्तुले पिउन मिल्दैन भने माछाका लागि समेत यो पानी हानिकारक हुन्छ । सन् २००७ मै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तालको पानी पिउन अयोग्य रहेको प्रतिवेदन सार्वजनिक गरेपनि शुद्धीकरणमा कुनै निकायले अहिलेसम्म चासो देखाएनन् । सामान्यतः पानीमा ६.५ देखि ८.५ सम्मको क्षार हुनुपर्ने भएपनि अघिल्लो वर्ष ८.७ र यो वर्ष ८.१ पीएच क्षार पाइएको छ ।

महानगरअन्तर्गत फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालय पनि छ । तर तालको प्रदूषण नियन्त्रणमा कुनै भूमिका खेल्न सकेको छैन । फेवा संरक्षणसम्बन्धी सर्वोच्चको फैसलामा अतिक्रमण हटाउने आदेश मात्र छैन, फेवालाई प्रदूषित हुनबाट बचाउन पनि भनिएको छ । तालमा मिसिने खोला, नहर, ढलको पानी शुद्धीकरण गरेर मात्रै फेवामा झार्न आदेशमा भनिएपनि अतिक्रमण हटाउने बाहेकको काम भएको छैन ।


क्याटेगोरी : देश / प्रदेश, समाचार, होटल / रेस्टुरेन्ट
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्