Techie IT
Mission Khabar

शालिकराम आत्महत्या प्रकरण : रवी छामिछाने पक्राउ र मिडिया ट्रायलको हाउगुजी


काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणले यतिबेल देशकै ध्यान खिचेको छ । घटनाको करिब ७ दिनसम्म चर्चा परिचर्चा नभएको यो काण्ड, मृतक पुडासैनी आफैले तयार पारेको मृत्युकालिन घोषणाको भिडियो सार्वजनिक भएपछि भने चितवनको कंगारु होटलको आत्महत्या प्रकरण देशव्यापी चर्चा र चासो बन्यो ।

यहि प्रकरणमा अभियुक्त बनाइएका रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गरिरहँदा भिडियो र लामिछाने पक्राउको बिषयलाई लिएर सामाजिक सञ्जाल र युट्युबमा विभिन्न फण्डाहरु भए । कतिपयले हत्या भन्दै भिडियोको विश्वसनियतामा प्रश्न उठाउँदै युट्युब समाचार बनाए । कतिपयले आत्महत्याको घटना र चर्चित कार्यक्रम प्रस्तोता रबी पक्राउको बिषयलाई अनलाईन, सामाजिक सञ्जालदेखी युट्युब ट्रायलका रुपमा राम्रै सदुपयोग गरे । यहाँपनि जनमत बाँढिएको छ । हुनत, यो प्रकरणका पछिल्ला भिडियो सामाग्रीमा अभिव्यक्त भएको प्रतिक्रिया हेर्दा लाग्छ, शालिकराम पुडाशैनीले प्रेमिका बनाएर महापाप गरे । उनी नालायक सावित हुँदैगर्दा यथार्थमा सबैभन्दा बढी महिलाका पीडक कहलिएका रबी लामिछाने भने उनै महिला र नेपालीका रोलमोडल जस्ता देखिएका छन् । सडकमा उस्तै नारा, जुलुस, सामाजिक सञ्जाल र युट्युबमा उस्तै प्रशंसा । आखिर मर्नेमाथी सहानुभुति कि मर्न बाध्य पारेको अभियोग खेप्नेमाथी सहानुभुति र साथ ? यो प्रश्न आमुक बनिरहेको छ ।

होला, सिधा कुरा जनतासँगका प्रस्तोता लामिछानेले धेरै आवाज विहिनको आवाज बोले, विपन्न दुखी गरिबमाथी न्याय गरे । बिदेशमा फसेका लुटिएकाहरुको उद्धार पनि गरेकैहुन । तर उनले पत्रकारिता भन्दा माथी उठेर शासक, प्रशासक, न्यायधिश सबै सबैको अभ्यास गर्न पनि नखोजेका होइनन् । यसलाई लेखाजोखा गर्ने जिम्मा पाठकलाई नै । सवाल यत्ति हो, कलियुगका भगवान अवतार दिइएका रबीले सत्ययुगका भगवानले जस्तै कहिँ कत्तै गल्ती गरेका हुनसक्छन् । मृत्युकालिन घोषणाको अभियोजनमा परेका उनीमाथी छानविन नै हुनुहुन्न भन्ने भीडको आह्वान र सन्देषलाई मान्नैपर्छ भन्ने छैन ।

अब त यो प्रकरण प्रहरी अनुसन्धानहुँदै अदालत पुगेको छ । अभियुक्तमाथीको वयान सकिएको छ । आइतवार जिल्ला सरकारी वकिलले जिल्ला अदालत चितवनमा ‘आत्महत्या दुरुत्साशन’ को मुद्दा दर्ता गरेसँगै सुरु भएको वयान दुई दिन नबित्दै सकिनु सकारात्मक हो । यसरी सबै मुद्धाको न्यायनिरुपण छिटो छिटो गर्ने थिति बसाल्न यो घटना कारक बनोस् । यो प्रकरणमा लामिछाने, कार्की कँडेल तीनै जनामाथी एउटै अभियोग छ । सडकमा एउटाको मात्रै नारा लाग्नु, आफैमा अरु दुई प्रतिको अन्याय हो । कानुन, बिधि र प्रक्रिया मान्ने सबै नागरिक राज्यको दायीत्वबाट बिमुख नभई धैर्य गर्नतर्फ लाग्ने हो कि । यतिको प्रतिक्षा पुरा भयो ।

अब सुरु भएको थुनछेक वहस सकिनासाथ अदालतले अभियुक्तलाई थुनामा राख्ने, धरौटी माग गर्ने वा साधरण तारेखमा छोड्ने भन्ने फैसला गर्नेछ । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरको अभियोगमा लामिछाने, कँडेल र अस्मीता भन्ने रुकु कार्कीमाथि जिल्ला सरकारी वकिल कार्यालयले ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै आइतबार जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रको जवाफ पाउन अब बढीमा दुईदिनको प्रतिक्षा काफि छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्