Techie IT
Mission Khabar

मोबाइल फोनको असर, एकाबिहानै मोवाइल प्रयोग गर्दा तनाव र स्वास्थ्य समस्याको जोखिम


काठमाडौं \एजेन्सी । पछिल्लो समय मोबाइल फोन हरेक मानिसका लागि जीवनको अभिन्न हिस्सा बनेको छ । हरेक समय हामी फोन प्रयोग गरिरहेका हुन्छौँ । मोबाइलसँग सधै कनेक्ट रहन्छौँ । राति सुत्नु अघिसम्म मोबाइल स्क्रिनमै हराउने हामी बिहान उठ्नासाथै उही फोनको सामिप्यमा पुग्छौँ र रमाउँछौँ । तर ब्युँझने बित्तिकै फोन चलाउने हाम्रो बानी घातक हुने कतिपय अध्ययनले देखाएका छन् ।

पछिल्लो समय बेलायतमा करीब दुई हजार व्यक्तिमा गरिएको सर्वेक्षणबाट बिहान उठे लगत्तै मोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको दिनको शुरुआत तनावबाट हुने देखाएको छ । मोवाइल फोनकै अधिक लतले उनीहरुलाई आफ्नो नियमित काम गर्न असहज हुनेसम्म अध्ययनबाट खुलेको छ । अध्ययनका अनुसार बिहान उठ्नासाथ मोबाइल चलाउँनेमा विभिन्न प्रकारका असर पाइएका छन् । विज्ञहरुका अनुसार, उठ्ने बित्तिकै जब हामी मोबाइलको नोटिफिकेशन देख्छौं, मस्तिष्कले त्यही विषयमा सोच्न थाल्छ । जसको कारण हाम्रो ध्यान दोस्रो काममा जाँदैन । मोवाइलकै गतिबिधी र त्यहीका क्रियाकलापमा बढी ध्यान केन्द्रित बन्दा हाम्रो कार्यक्षमतामा असर पुग्छ ।

बिहान उठ्नासाथ जब हामी कुनै विषयमा सोच्छौं, लगातार त्यसबारे सोच्दा व्यक्तिमा तनाव र व्याकुलता बढ्छ । बिहान कतिपय व्यक्तिको रक्तचाप बढेको अवस्थामा हुन्छ, यस्तोमा धेरै तनाव लिंदा रक्तचाप थप बढ्न सक्छ । जसका कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्ने जोखिम समेत अध्ययनले देखाएको छ । बिहान मोबाइल चलाउँदा हामी सामान्यतया इमेल वा सोसल मिडियाको नोटिफिकेशनमै आँखा लगाइरहेका हुन्छौं, त्यस क्रममा हामी बितेका समयका कुरा पढिरहेका हुन्छौं । हामी आफ्नो वर्तमान बिर्सेर अतीतमा हराउन थाल्छौं । जसले गर्दा तपाईंको दिनको शुरुआत राम्रो हुँदैन ।

मानसिक तनाब लगायतका विभिन्न स्वास्थ्य जोखिम समेत बढाउने भएकाले विज्ञहरुले बिहान उठ्नासाथ मोबाइल फोन नचलाउन सुझाव दिएका छन् । तपाईंले दिनको शुरुआत योग वा ध्यानबाट गर्नुभयो भने मन र मस्तिष्कमा शान्ति अनि ऊर्जा भर्छ । आफ्नो दैनिक काम प्रभावकारी ढंगले गर्न पनि सजिलो हुन्छ ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्