Techie IT
Mission Khabar

कोरोना भाईरसको महामारीसँगै नक्कली औषधीको बिगबिगि, चीन र भारतको भरपर्दै विश्व


काठमाडौं, एजेन्सी । कोरोनाको बढ्दो महामारीसँगै विश्वभर अत्यावश्यकीय औषधीहरू थुपारेर राख्ने प्रतिस्पर्धा चल्दा औषधीको अभाव देखिएको छ भने नक्कली औषधी उत्पादन बढ्न थालेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेकै साता औषधीसम्बन्धी अपराधविरुद्ध काम गर्ने इन्टरपोलको विश्वव्यापी इकाइ अपरेसन पान्जियाले गरेको एक साता लामो अप्रेसनबाट ९० वटा देशबाट १२१ जना पक्राउ परे । उनीहरुले बिक्रिवितरण गरेको १ करोड १४ लाख डलर बराबरका घातक औषधी जफत भएको थियो । अझ, विश्वका दुई ठूला औषधी आपूर्ति गर्ने देश चीन र भारत लकडाउन भएर औषधीको आपूर्ति घटेसँगै खतरनाक खालका नक्कली औषधीहरूको व्यापारमा बृद्धी भएको पाइएको छ । विश्वस्वास्थ्य सङ्गठनले पनि ३० अर्ब डलर बराबरका नक्कली वा म्याद नाघिसकेका औषधीको व्यापार न्यून र मध्यम आय भएका देशहरूमा बढ्नेतर्फ सचेत गराईसकेको छ ।

नक्कली औषधीले रोग निको पार्नुको साटो उल्टै जोखिम बढाउने विश्व स्वास्थ्य सङ्गठनकी नक्कली औषधीबारे हेर्न पर्नेट बुडिलियन इस्टिभले बताइन् । विश्वव्यापी औषधी उद्योग १० खर्ब डलरभन्दा बढीको छ । यसको आपूर्ति सञ्जाल पनि ठूलो छ । चीन र भारत जस्ता देश प्रमुख औषधी उत्पादक हुन् भने युरोप, दक्षिण अमेरिका वा एसियामा रहेका गोदामहरूमा प्याकेज गरेर विश्वभरका सबै देशहरूमा वितरकले औषधी पठाउने गर्छन । विश्वका धेरै मुलुक लकडाउनमा गएसँगै, आपूर्ति गर्ने सञ्जालमा गडबडी आउन थालेको आँकलन बिश्व स्वास्थ्य संगठनले गर्दै आएको छ ।

भारतमा रहेका थुप्रै औषधी उत्पादक कम्पनीहरूले आफ्नो क्षमताको ६० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । भारतीय कम्पनीहरूले २० प्रतिशत अत्यावश्यकीय औषधीहरू पठाउने अफ्रिका महादेशका अफ्रिकी मुलुकहरू अहिले सबैभन्दा बढी अभावको सामना गरिरहेका छन् । जाम्बियाको लुसाकाका एक औषधी विक्रेता इफ्राइम पिरीले आफूले तनाव महसुस गर्न थालेको मात्रै बताएका छैनन । माग र आफूर्तीमै गढबढ भएको बताएका छन् । यहाँ मात्रै होइन्, विश्वका थुप्रै देशमा एन्टिबायोटिक र औलोका अत्यावश्यकीय औषधीहरू अभाव हुन थालेका छन् ।

औषधी बनाउन आवश्यक पर्ने कच्चा सामग्री महंगिदा समेत उत्पादक र आपूर्तिकर्ता कठिनाइ भोग्नुपर्ने अवस्थामा छन् । उद्योगीका अनुसार औलोको औषधीका लागि चाहिने हाइड्रोक्लोरोक्वीन नामक कच्चा सामग्रीहरू प्रति किलो करिब १ सय डलरबाट बढेर प्रति किलो ११ सय ५० डलर पुगेको छ । घट्दो आपूर्ति र बढ्दो मागसँगै नक्कली औषधीको बिक्री हुने सम्भावना र उत्पादनको प्रतिस्पर्धाले खतरा पैदा गर्नेतर्फ विश्वस्वास्थ्य सङ्गठनले चेतावनी दिएपनि नक्कली औषधीको कारोबार नियन्त्रण गर्न सकिएको छैन ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, विश्व / विविध, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्