Techie IT
Mission Khabar

जापान सरकारको प्रतिव्यक्ति १ लाख येन राहत प्याकेज, यसरी लिन सकिन्छ सुविधा


सुर्य अधिकारी, जापान । कोरोना भाइरसका कारण रोजगारी गुमाएका तथा आर्थिक भार ब्यहोर्नुपरिरहेका सबै जापानवासीलाई सरकारले प्रतिव्यक्ति १ लाख येन राहत दिने भएको छ । जापानी प्रधानमन्त्री सिञ्जो आबेले प्रति व्यक्ति १ लाख येन दिने भन्ने राष्ट्रिय विधायिकाका अध्यक्ष यामागुचीको प्रस्तावलाई सम्बोधन गरेर राहत वितरण गर्ने बताएका हुन् ।

बुधवार संसदको राष्ट्रिय विधायिकामा कोरोनाका कारण आर्थिक मार खेपिरहेका सबैलाई राहत प्याकेज बढाउने प्रस्तावमा छलफल भएको थियो । प्रधानमन्त्री आबेले सत्ताधारी एलडिपिको कार्यकारीहरुको बैठकमा समेत पुरक बजेटको संशोधन मार्फत राहत बढाउने बारे छलफल गरेर निर्णयमा पुग्ने बताएका छन् । जापानीज समाचार संस्था एनएचकेका अनुसार कोरोना भाइरसको संक्रमणका कारण सबैमा आर्थिक भार बढेको उल्लेख गर्दै प्रतिव्यक्ति १लाख यान दिनेगरि सरकारले प्रक्रिया अगाडी बढाउन लागेको हो । जापानमा नियमपुर्वक बसेका तथा आधारभुत आवास दर्ता भएका सबै यो राहतका लागि योग्य हुनेछन् । जापानमा करिब ७५ हजार नेपाली शिक्षा तथा रोजगारीका क्रममा रहेका छन् । उनीहरु समेत सरकारको राहत बाट लाभान्वित हुनेछन् ।

जापान सरकारको अनुदान प्राप्त गर्न स्थानीय नगर सरकार कार्यालयले तपाईको ठेगानामा हुलाक मार्फत पठाएको आवेदन भने भर्नुपर्ने छ । यदी तपाई डिजिटल रुपमा परिचय पुष्टि हुने माइ नम्बर कार्डमा दर्ता हुनुहुन्छ भने अनलाईन आवेदन मार्फत फारम भर्न सक्नुहुने छ । करिब १२ करोड ६० लाख जनसंख्या रहेको जापानमा सबैले सरकारी राहत लिएमा राज्यले १ सय २६ खर्ब येन खर्चिनुपर्ने हुन्छ । ऋण पत्र मार्फत जुटाइने राहत प्याकेजका लागि ८६ खर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । यद्यपी राहत प्याकेज घोषणाको तयारी भएपनि कहिलेबाट लागु हुने एकिन भैसकेको छैन ।

जापानमा यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या १० हजार आठसय नजिक पुगेको छ भने कोरोनाकै कारण २ सय ३६ जनाको ज्यान गएको छ । कोरोनाको थप प्रकोप रोक्न जापान सरकारले टोकियोसहितका सात प्रान्तमा मे ६ सम्म लागु हुनेगरी एक महिना आपतकाल घोषणा गरेको छ । जसका कारण भीडभाड हुने उद्योग तथा बजार बन्द हुँदा लाखौँको रोजगारी संकटमा परेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, विश्व / विविध
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्