Techie IT
Mission Khabar

नेपालमा कोरोनाको तेश्रो चरण, ४२ जना संक्रमितको पहिचान हुँदा प्रदेश १ मा सबैभन्दा बढी त्रासदी


काठमाडौं\सुनसरी । मंगलबार एकैदिन उदयपुरको भुल्के क्षेत्रका ११ जनामा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ भेटिएसँगै नेपालमा संक्रमितहरुको संख्या ४२ पुग्यो । देशको सुदुरपश्चिम क्षेत्रमा कोरोना संक्रमित बढी पहिचान भएको र संक्रमणको डर पनि बढी रहेको भनिदैगर्दा प्रदेश १ मा एकाएक कोरोना संक्रमण बृद्धी भएको छ ।

उदयपुर जिल्लामै गत शुक्रबार १३ जना र मंगलबार ११ जना संक्रमित फेला परेसँगै प्रदेश १ मा मात्र २४ जना संक्रमित पहिचान भएका छन् । उदयपु भुल्केस्थित एक मस्जितमा १३ जना कोरोना संक्रमित भेटिएको क्षेत्रमै समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको पहिचान भएसँगै नेपालमा कोरोना संक्रमण तेश्रो चरणमा प्रवेश गरेको छ । कतिपय स्वास्थ्य क्षेत्रका जानकारहरुले भने समुदायमा देखिएको यो संक्रमणलाई खतराको संकेत भनेका छन् ।  मस्जिद वरिपरिका प्रत्येक घरका एकएक जना गरेर ३ सय २० जनाको नमूना संकलन गरेर परिक्षण गरिएको छ । नेपाली सेनाको ब्यारेक सहित ५२ घरधुरीमा ६ सय को बसोबास रहेको मस्जित आसपासको क्षेत्रलाई सुरक्षा निकायले सिल गरेको छ ।

मंगलबार पोजेटिभ नतिजा आएकाहरु १८ वर्ष उमेरदेखि ५८ वर्षसम्मका छन् । जसमा दुईजना महिलासमेत छन् । एक साताभित्र एकै क्षेत्रबाट कोभिड १९ का ठूलो संख्यामा संक्रमित पहिचान भएसँगै प्रदेश एक सरकारले विशेष सुरक्षा सतर्कता सहित निगरानी र कोरोना नमुना जाँचलाई तिब्रता दिइरहेको प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । विदेशबाट आएकाहरुमा मात्रै सिमित कोरोना भाइरसको संक्रमण परिवार र छरछिमेकका व्यक्ति हुँदै समुदायमा समेत देखिएपछि देशमै त्रासदी बढेको छ ।

उदयपुरमा कोरोना पहिचान भएका २४ जनाकै अहिले विराटनगरस्थित कोशी अस्पतालस्थित कोरोना बिशेष अस्पतालमा उपचार भैरहेको छ । सबैजनामा कोरोनाको लक्षण, ज्वरो, रुघाखोकी नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ । हाल विराटनगरको कोभिड १९ उपचार केन्द्रमा १० वटा भेन्टिलेटर बेड सहित ५० वटा बेड क्षमता छ। कोभिड १९ का कुल ४२ जना संक्रमित मध्ये ५ जना उपचारपछि घर फर्किएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्