Techie IT
Mission Khabar

अधुरो प्रेम : शंकरजंग इटनी 


काठमाडौं । घडीले विहानको चार बजाई सकेको थियो मेरो यात्रा उज्जल भविष्यको लागि काठमाडौंसम्मको थियो । आफुलाइ अन्त कतै जाने भनेपछि पटक्कै निन्द्रा नपर्ने बानी । एक एक घण्टामा विउझिने अनि घडी हेर्ने गर्दै रात कटेपछि विहानको झुल्के घामसँगै यात्रामा निस्कनुपर्ने । मनभरी पिरै पिर अनि बुढा भएका बुबाआमालाई छोडेर जान कसलाई पो मन लाग्छ र त्यै पनि घरको कान्छो छोरो ।

तै पनि छोराको भविश्य बनाउने यात्रा सफल होस भन्दै आमाले मेरो पुरानो झोलामा छोराको लागी भनेर गुन्द्रुक र चामल पोको पारी दिनुभयो । । यता बुबा पनि मुख अमिलो पार्दै पिढीको खाटमा बस्दै राम्रोसँग जा भन्दै हुनुहुन्थ्यो । बुबाआमाले आशिर्वाद सहितको रातो टिका निधारभरी लगाएर राम्रो सँग जा बाबु भनेर हातमा काठमाडौंसम्म पुग्ने भाडा दिएर विदा दिनुभयो । मन भरी कुरा खेलाउँदै म पनि बस चढे । बसमा मज्जाले राजु परियाको फुलमा माहुरी डुल्ने बेलामा बोलको लोक दोहोरी गित घन्कीरहेको थियो । यसरी काठमाडौंको यात्र शुरु भयो । बसभरिका यात्रुहरु आ आफ्नै धुनमा थिए । कोही कोही मलाइ एक टकले हेर्ने गर्थे । मेरो लागी गोर्खादेखी काठमाडौंसम्मको बाटो नितान्त नयाँ थियो ।

एसएलसी पछिको यो यात्रा मेरो लागि युरोप र अमेरीका भम्रण गए बाराबर नै बनिरहेको थियो । काठमाण्डौँ आइपुगेपछिको अनुभव झनै फरक । अग्ला अग्ला घर चिल्ला चिल्ला सडक देख्दा र म गाउँबाट धुलाम्मै भएर गाडीबाट झर्दाको क्षण अझ पनि मेरो मनमा तजगी नै छ । घरबाट कहाँ जाने भन्ने कुरा चै था थियो । तर एक्लै यात्रा गरेकोले कहा झर्ने र कसरी जाने भन्ने कुरा चै अन्योल । तैपनि गोरखादेखीको यात्रा कलंकी सम्म आएर रोकियो । म मैलो झोला र धुलाम्मे शरीर अनि फुस्रो अनुहार बोकेर मकालु पेट्रोलपम्प तर्फ हिड्न थाले । बाँकी यात्रा दिदीको घरसम्मको थियो । बाटोका पसलहरुमा सोधीखोजी गर्दै दिदीको घरसम्म पुगे ।

बाटोमा कुकुरहरु मलाइ हेर्दै भुक्दै थिए । सायद मैले लाएको कपडा पुरानो भएर होला जस्तो लाग्यो । काठमाडौंका कुकुरहरु पनि हुने खानेसँग मात्र डराउने रैछन अरुलाई त देख्यो की भुक्ने र टोक्ने होलान जस्तो लाग्यो । दिदी र भिनाजुसँगको भेट दुखसुखका भलाकुसारी गरेर त्यो रात अबेर सुतियो । घरको याद बुबाआमाको सपना त एकातिर छदै छ । आफुले के गरेर काठमाडौंमा पेट पाल्ने भन्ने अर्को चिन्ता । यसरी दिनहरु वित्दैगए काठमाडौंको मुहार एकपछि अर्को गरी फेरीदै गयो । सानो सानो जागिर गर्दै आफनो पढाईलाई अगाडी लैजादै थिए ।

एक दिन कामबाट फर्किदैगर्दा रत्नपार्कबाट कलंकीसम्म आउने निलो माइक्रो चढेको थिए । मेरै छेउमा आएर एकजना अपरिचित युवती बसिन । मेरो हातमा ११ सय मोडलको नोकिया फोन थियो, त्यो पनि गाउको दाजुले कतारबाट आँउदा ल्याइदीएको । तर उनको हातामा राम्रै मोबाइल । किन हो कुनी, मलाई गाँउको सोझो केटो लागेर हो की खै के हो उनी कहिले मेरो मुखमा हेर्थीन त कहीले भूँइतिर । मलाई हेर्दाहेर्दै खै उनको मनले के भन्यो एक्कासी मेरो सम्पर्क नम्बर मागिन । मैले पनि अपरिचित उनीलाई केही नसोची आफ्नो मोवाईल नम्बर दिए । यसरी कलंकीसम्मको यात्रा सकिएर गाडीबाट झर्ने समयमा उनले मलाई हात हल्लाउँदै बाई भनिन । म भर्खर गाउँबाट आएको केटो, बाइ भन्ने बानी परीसकेको थिएन् मुसुक्क हास्दै उनको बाईलाई निशब्द टारीदिए । यसरी हामी छुट्टियौँ । उनी बल्खु तिर लागिन अनि म चै कलंकीतिर । कोठामा पुग्दासम्म मनमा धेरै कुरा खेल्यो । किन त्यो केटीले मेरो नम्बर मागेको होला भन्ने अर्को चिन्ता थपियो । यो रात पनि मनमा धेरै कुरा खेल्दै वित्यो ।

घर परिवार छाडेर अपरिचित ठाउँमा पढ्न र संघर्ष गर्न थालेको ६ सात महिना पुग्दैगर्दा बुबाआमाको याद ताजा छदैथियो, अझ अपरीचित मान्छेले फोन नम्बर लगेपछि मन त त्यसै पनि डराउने नै भयो । ती अपरिचित व्यक्तिले सम्पर्क नम्बर लगेको दश दिनपछि मेरो मोबाइलमा घण्टी बज्यो, माइक्रोको यात्राका क्रममा उनलेमात्रै फोन नम्बर मागेर सेभ गरेकि थिइन् । अपरिचित नम्बरबाट आएको फोन केही शंकोच मान्दै उठाए । सोधे को बोल्नु भएको ? जवाफ आयो, म त्यही केटी हो । तिम्रो र मेरो रत्नपार्कदेखी कलंकीसम्मको माइक्रो यात्राका क्रममा भेट भएको थियो । मैले पनि ए तपाइ भनेर सम्बोधन गरेँ । उनले तपाई नभन न तिमी भन भन्दै जवाफ फकाईन । मलाइ भर्खर गाँउबाट आएकाले होला तिमी भन्न साह्रै असजिलो लाग्थ्यो । मैले धेरै समय उनीलाई तपाई भनेर सम्बोधन गरिरहे । यसपछि हामीबीच फोन सम्वाद केही बाक्लिन थाल्यो । मैले तपाई को हो, किन मेरो नम्बर माग्नु भयो ? भन्दा उसले खिसीक्क हाँस्दै भनी तिमी सोझो लागेर । मलाइ झन डर लाग्न थाल्यो ।

बेलुका बेलुका खाना खाए पछि हाम्रो गाँउघर तिर कथा भन्ने चलन हुन्थ्यो । धेरै सोझा मान्छेहरुलाइ ललाई फकाई भारतमा लगेर बेचिदिन्छन त्यसैले नौलो मान्छेसँग संगत नगर्नु है भनेर गाँउका बुढा पाकाले भन्ने गरेको स्मरण भयो । तैपनि दिनहरु वित्दै गए, कुराहरु झन बाक्लो हुदै गए । मैले पनि उनलाइ मेरो बारेमा सबै बताएँ । उनले पनि सवै कुरा भनिन् । विस्तारै विस्तारै हामी एक अर्कासँग परिचित हुँदै गयो। उनको बुबा नेपाल सरकारको जागिरे हुदा तत्कालिन विद्रोही समुहले सुदुरपश्चिको अछाम जिल्लामा हत्या गरीदिइका रहेछन् । त्यस पश्चात उनीहरु सपररिवार काठमाडौं बसेका रहेछन् । उनका हरेक कुराहरु सुन्दै जाँदा म भावुक बन्थे । समय र समयले दिएका चोटहरु सायद ममा भन्दा उनमा बढी थिए । त्यसैले होला ममा भन्दा उनमा चुनौतीहरुसँग जुध्न सक्ने सामथ्र्य धेरै थियो । यसरी हामीले एक अर्कालाइ चिन्दै गयौँ कुराहरु मिठा मिठा हुँदै गए । हामी एकअर्काबिच नजिकको साथी बन्यौँ । उनले प्लस टु विज्ञान संकायमा सकीन्, मैले व्यवस्थापन संकायमा ।

उनको परिवारले उनलाई अस्ट्रेलिया पाठाउने निधो गरे, नभन्दै पढाइ राम्रो भएकाले उनको अस्ट्रेलियाको भिजा आएछ । उनले जिस्कदै भन्ने गर्थिन्, रवी म तिमीलाई अस्ट्रेलिया लैजान्छु नी । म नी मख्ख परेर हस भन्थेँ । समयको रफ्तारसँगै उनी श्रेया नेपाल छाडेर अस्ट्रेलिया जाने दिन आयो । उनका सपरिवार नेपालकै एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल श्रेयालाई पुर्याउन पुगे । उनले मलाई फोन गरेर भनिन म गए मेरो दिउँसोको दुई बजेको फ्लाईट छ, राम्रोसँग बस, बाबाममीको ख्याल राख । उनको यो शब्दले मेरो मन भारी भयो । जिवनको हरेक मोडमा हरेक सानो सानो कुराले पनि ठुलो ठुलो शिक्षा दिइरहेको हुन्छ मलाइ पनि श्रेयाको हरेक कुराले प्रभावित हुदैँ गएँ । उनी अस्ट्रेलिया पुगेर मलाई मेसेज गरीन म सीड्नी राम्रोसंग आइपुगे । दिनहरु वित्दै गए श्रैया पनि मसँग दुख सुखका कुराहरु गर्दै गइन अस्ट्रेलियाको ठाउँ काम नगरी बस्न र पढ्न गाह्रो । अनि मेरो पनि यता सानोतिनो जागिर । यसरी उनको र मेरा कुराहरु समय मिलाएर मात्र हुने वातारण बन्यो ।

उनी सधै हरेस खानुहुन्न भन्ने गर्थीन चुनौतीसंग लडनुपर्छ भन्थिन । होला सायद त्यसैले पनि म मजबुत भएर अगाडी बढदै थिए, उनको विस्वास विस्तारै बढ्दै गयो । एक दिन उनले मलाई केही कुरा भन्नु छ भनिन, मैले हुन्छ भने । तिमी मलाई साह्रै सोझो लाग्छ म तिमीसंग नेपाल आएर विवाह गर्न चाहान्छु रुपमा म राम्रो नभए पनि मनमा म धैरै राम्रा्े छु । उनका यी कुराहरुले मलाइ कता कता कतै यो भ्रम त होइन जस्तो लाग्थ्यो । तर उनमा मलाइ सम्झाउन सक्ने क्षमता धेरै थियो । उनको अस्ट्रेलिया बसाईको भिजा पनि दिन प्रतिदिन कम हुँदै थियो । एकदिन उनले मलाई फोन गरिन्, हामी साथीहरुसंग मेलवर्न धुम्न जाने निधो गरेका छौ तिमीलाइ धेरै मिस गरेको छु भनेर फोन राखिन् । त्यसपछि लामो समयसम्म फोन आएन्, आफुभने फोन किन आएन धुमफिर पछिको रमाइला पलहरु मसंग किन साटिनन् भन्ने सोचर चिन्तित बनिरहे ।

तर दुखद कुरा अर्कै रहेछ । जुन कुरा मलाई अलि पछि आएर था भयो । साथीको गाडीमा मेलवर्नसम्मको यात्रा र घुमफिरपछि सिड्नी फर्कने क्रममा भिषण पानी परेकोले साथीले चलाएको कार सडक दुर्घटनामा परेछ । दुर्घटनापछि उनी लगायत सबै साथीहरुलाई प्रहरीले उद्धार गरेर अस्पाताल पुर्याउने क्रममा श्रैयाले यो संसार छोडी सकेको यथार्थ मेरालाई ठूलो बिछोड थियो । म उनीसंग मात्र सम्पर्कमा थिए उनको परीवारसंग मेरो चिनजान थिएन । एकातिर बुबा गुमाउनुको पीडा बोकेर सात समुन्द पारी उच्च शिक्षाको लागी पुगेकी छोरीलाई गुमाउनुको पीडा श्रेयाको आमालाई ठुलै बज्रपात बनेको थियो । श्रेयाको मुत्युले उनको परिवार त मर्माहत छ नै मलाईपनि उनको त्यो माया अनि उनले सीकाएकोे मार्गदर्शन सधै स्मरण बनिरहेको छ । उनी आज यो धर्तीमा भए हाम्रो माया कसरी अघि बढ्थ्यो होला ? उनको त्यो मुसुक्क हाँसेर सम्झाउने बानीले आज पनि मलाइ सहि बाटोमा हिड्न उत्पेरित गरिरहेको छ ।

आशा छ, यस जन्ममा उनको र मेरो भेट नभए पनि अर्को जन्ममा अवश्य पनि हुनेछ, आज विगत विगतमै सीमीत भयो माया अधुरै रहयो । श्रेयाले भनेका केही कुरा भने मेरो मन मस्तिष्कर्मा सधै खेलिरहेका छन् । हाम्रो देशमा केबल शासक फेरिए देश र जनताको पक्षमा शासन फेरिएन् । म जस्ता हजारौँ टुहुरा भएका छन्, हजारौँ नारीको सिउँदो पुछिएको छ, हजारौँ आमाबुबाको कोख रित्तिएको छ । दशवर्षे जनयुद्धले गरीबको लागी कुनै परिवर्तन दिन सक्छ कि सक्दैन ? अहिले सम्झन्छु, खै राजनीतिक परिवर्तनले आम जनतामा के नै परिवर्तन ल्यायो र ? केबल नेता फेरिए नेतृत्व फेरियो, प्रबृत्ति उही संस्कार उही, स्वार्थ उही । श्रेया देशको राजनीति नसुध्रिए पनि नेताहरु देश र जनताको पक्षमा इमान्दार नभएपनि म बेइमान बन्नेछैन । कसम, इमान्दार बन्ने प्रयत्न गरिरहनेछु ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्